आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने

-



     सफल आवाज    
     असार १३ गते २०७९ मा प्रकाशित



तनहुँ, १३ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने भएको छ । आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीको सेवा विस्तार गरी आगामी आर्थिक वर्ष ०७९÷८० देखि पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्यचौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। अस्पतालमा आकस्मिक, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी र फार्मेसीलगायतका सेवा प्रदान गरिनेछ । हाल स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरलगायतका सेवा प्रवाह भइरहेको छ ।

गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागिएको चुमानले बताए। गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायतका ठाउँमा उपचार गर्न जार्नुपर्ने बाध्यता छ । गाउँपालिकाले ७० वर्षभन्दा माथिको ज्येष्ठ नागरिक र सुत्केरी हुँदा गर्भवतीलाई गाउँपालिकाको अस्पतालबाट निःशुल्क सेवा दिइनेछ ।

“अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ, ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क सेवा दिन्छौँ”, उनले भने। गाउँपालिकाले एक वडा ः एक स्वास्थ्यचौकीको निर्माण कार्य सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाउनेछ । यसका लागि सङ्घ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिने अध्यक्ष चुमानले बताए । गाउँपालिकाले क्यान्सर बिरामीलाई एक पटकका लागि रु ५० हजार नगद सहयोग गर्ने नीति पारित गरेको छ ।

गाउँपालिकाले निजी, विभिन्न समूह र सङ्घसंस्थाको सहयोगमा वृहत उपचार तथा कोषको स्थापना गरिने उनले बताए । “निश्चित कार्यविधि बनाई जटिल रोगको उपचार तथा विपद् तथा जोखिममा परेका पालिकाभित्रका व्यवसायी, व्यापारी तथा नागरिकको उद्धार तथा राहत कार्य अगाडि बढाउँछौँ”, उनले भने । सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरी विपन्न परिवारमा पोषिलो खानाको व्यवस्था मिलाउने गाउँपालिकाले जनाएको छ ।

ग्रामीण भेगका वडामा टेलिमेडिसिन विधिबाट विशेषज्ञ सेवा विस्तार गरिने अध्यक्ष चुमानले जानकारी दिए। ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको मोबाइल एप्लिकेशन बनाई तथ्याङ्क राखिने जनाइएको छ । घुम्ती शिविरको माध्यमबाट प्रत्येक महिना एकचोटी गाउँ टोलमा नै गइ आधारभूत स्वास्थ्य जाँचको रिपोर्ट कार्ड बनाइने जनाइएको छ ।