हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुँदै, स्वाप रेसियो १००:८१

-



     सफल आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ असार । लामो छलफलपछि हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सहमति भएको छ । सहमति अनुसार हिमालयन र सिभिल बैंकले आज मर्जरका लागि हस्ताक्षर गर्नेछन् । मंगलबार बेलुका हिमालयन बैंकमा जान नसकिने निष्कर्षमा सिभिल बैंक पुगेको थियो ।

सभिलका सञ्चालकले हिमालयनका सञ्चालकलाई मर्जरमा जान नसकिने निष्कर्ष सुनाएका पनि थिए । तर मध्यरातमा भएको छलफलमा भने सिभिल हिमालयन बैंकमा गाभिन तयार भएको हो । सहमति अनुसार हिमालयन बैंकमा सिभिल बैंक गाभिने छ । जसमा स्वाप अनुपात १००: ८१ हुने छ ।

सिभिल बैंकमा १०० कित्ता सेयर हुनेको एक्विजेशन भएपछि ८१ कित्ता सेयर हुने छ । एक्विजेशन पछि बन्ने संस्थाको नाम हिमालयन बैंक हुने तथा सञ्चालक समिति हिमालयन बैंकको नै हुने छ ।

एकीकृत कारोबारपछि हुने साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्ने छ । प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा हुने छन् । सीइओपछि दोस्रो बरियताको डेपुटी सीइओमा सिभिल बैंकका सीइओ सुनिल पोखरेल हुनेछन् ।

यसअघि कर्मचारी समायोजन र स्वाप रेसियोमा सिभिल बैंकको कुरा मिलेको थिएन । तर राति १० बजेपछि भएको छलफलपछि मर्जरमा जाने सहमति भएको सिभिल बैंक स्रोतको भनाइ छ ।

हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडेपछि राष्ट्र बैंकको कारवाहीबाट बच्न अर्को वाणिज्य बैंकसँग मर्जर वा एक्विजेशन गर्नुपर्ने बाध्यता थियो । इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जरमा जाने सहमति गरेको छ । जसको सैद्दान्तिक स्वीकृति समेत आइसकेको छ ।