राेटरीले गर्याे पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई क्याथ ल्याब हस्तान्तरण, मुटुराेगकाे उपचार अब पाेखरामै हुने

-



     आरजु बिष्ट सल्यानी    
     असार ३० गते २०७९ मा प्रकाशित



पोखरा, ३० असार । रोटरी क्लबको सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय अस्पत्ताल पाेखरामा जडान गरिएको क्याथ ल्याब अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ ।

बिहीबार एक कार्यक्रमबिच स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, रोटरी इन्टरनेशनलका निवर्तमान इन्टरनेशनल प्रेसिडेन्ट शेखर मेहता र रोटरी क्लब अफ पोखरा २०२२-२३ का अध्यक्ष रोटरीयन डा. राजेन्द्रकुमार गौतमले उद्घाटन पश्चात संयुक्त रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.डुकबहादुर क्षेत्रीलाई क्याथ ल्याब हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री खापुङले गण्डकी प्रदेशवासीहरुलाई अब मुटुको उपचारका लागि संघीय राजधानी काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने बताए । सरकारी अस्पतालहरुले नागरिकहरुलाई छिटो छरितो सेवा सुविधा दिन नसकेको अारोप लाग्दै आएको भन्दै उनले त्यस्ता अस्पतालहरुमा जनशक्ति थप गरेर भएपनि सेवा प्रवाहका लागि पहल गर्ने प्रतिवद्धता जनाए । स्वास्थ्य जस्तो संवेदनशील विषयमा तीन तहको सरकारबिच सहकार्य हुनुपर्ने उनको भनाई थियो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मानव स्वास्थ्य सबैको प्राथमिकताको विषय भएको बताए । अस्पताल संघ मातहत भएपनि महानगर र अस्पताल प्रशासनबिच मिलेर काम गर्नुपर्नेमा मेयर आचार्यले जोड दिएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. क्षेत्रीले क्थाथ ल्यावबाट मुटुरोगीहरुले उपचार गरी फाइदा लिने बताए । रोटरी इन्टरनेशनलका निवर्तमान अध्यक्ष मेहताले यस किसिमकाे सहयोगलाई निरन्तरता दिने बताए ।

राेटरी क्लबका पुर्व गभर्नर रोटरीयन किरणलाल श्रेष्ठले रोटरी क्लबले शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा निस्वार्थ भावले काम गर्दै आइरहेको बताए ।

मुटु उपचार केन्द्र परियोजनाका संयोजक रोटरीयन बाबुराम बरालले ७ करोडको लागतमा उक्त क्याथ ल्याब निर्माण गरिएको जानकारी दिए । उनले सन् २०१५ देखिको सपना पूरा भएको भन्द खुसी व्यक्त गरे । कार्यक्रममा क्लबको तर्फबाट १० थान ह्विल चियर समेत अस्पताललाई हस्तान्तरण गरिएको थियो ।