अदालतको काम कारबाही बारे जनआस्था बढाउन चाहेका छौं : कामु मुख्य न्यायाधिश आचार्य

-



     आरजू विष्ट सल्यानी    
     असार ३१ गते २०७९ मा प्रकाशित



पोखरा, ३१ असार । उच्च अदालत पोखराले अदालतका काम कारबाहीका बारेमा सत्यतथ्य सूचना पाउने नागरिकको अधिकार भएकोले आम संचारको माध्यमबाट नागरिकका लागि आर्थिक वर्ष २०७८/०८९ को सत्यतथ्य प्रगती विवरण प्रकाशमा ल्याएको जानकारी दिएकाे छ ।

उच्च अदालत पोखरामा शुक्रबार एक कार्यक्रमको आयोजना गरी कायम मुकायम मुख्य न्यायाधिश डिल्लिराज आचार्यले अदालतका काम बारबाहि र सूचनाहरु नागरिकसम्म पुर्याउँदा अदालतप्रति उनीहरुको आस्थामा अभिबृद्धि गर्न सहयोग पुग्ने बताए ।

नेपालको संविधानले धारा २१७ को उपधारा १ अनुसार सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतको व्यवस्था गरेको छ । नेपालमा हाल ७ वटा उच्च अदालत, ९ वटा इजलास र २ अस्थायी गरी १८ वटा उच्च अदालत र इजलास रहेका छन् ।

उच्च अदालत पोखराको प्रशासनिक क्षेत्रअनुसार बागलुङ इजलास र गण्डकीका सबै ११ वटा जिल्लामा जिल्ला अदालत रहेका छन् । न्यायीक क्षेत्र अन्तर्गत नवलपुर, गोरखा, लमजुङ, मनाङ, कास्की, तनहुँ र स्याङ्जा अदालतको पुनरावेदन सुनुवाई यसै अदालतमा हुनेगर्छ ।

पत्रकार, मानव अधिकारकर्मि तथा नागरिक समाजका प्रतिनिधिबीच प्रस्तुत गरिएको कार्य प्रगती विवरण र छलफलमा न्यायाधिश आचार्यले आगामी दिनमा अदालतका सहि सूचनाहरु नागरिकसमक्ष पुर्याउनका लागि आवश्यक संयन्त्र तथा प्रणालीको विकास, कानुनी सूचना संप्रेसणका लागि पत्रकारहरुको लागि तालिमको व्यवस्था गर्ने सोंच रहेको बताए ।

कार्यक्रममा उच्च अदालत पोखराको कार्य प्रगती विवरण प्रस्तुत गर्दै रजिष्टार श्रीलाल पौडेलले आर्थिक वर्ष २०७८९/०७९ मा १४४२ थान मुद्धा दर्ता हुने अनुमान गरिएकोमा १४८४ वटा मुद्धा दर्ता भएका, गत आर्थिक वर्षबाट सरी आएका ९३० थान र यस वर्ष दर्ता भएका १४८४ गरी मुद्धाको लगत २४१४ कायम भएको बताए । वार्षिक कार्ययोजनाले १६०४ वटा मुद्धा फछ्र्र्यौट गर्ने लक्ष्य लिएकोमा १२४६ थान मुद्धा फछ्र्र्यौट भई ११६८ बाँकी रहेको बताए । लक्ष्यका हिसाबले अदालतले ७७.७८ प्रतिशत र यथार्थ फछ्र्र्यौटको कुल प्रतिशत ५१.६१ प्रतिशत रहेको बताए ।

निवेदन प्रतिवेदनमा जिम्मेवारी सरेका ७८ वटा र यस वर्ष दर्ता भएका ७१७ सहित ७९५ मध्ये ७७८ फछ्र्यौट भएका र १७ थान बाँकी रहेका छन् । सदर भएका मुद्धाहरु ६९५, उल्टी भएका मुद्धाहरु ११८ रहे । उल्टी भएका मुद्धा ५७ थान र रिट तथा शुरु कारबाही हुने फैसला संख्या ३७६ रहेको छ ।

सरकारवादी फौजदारी मुद्धा ६१३ रहेका छन् । व्यक्तिवादी १०७, देवानी मुद्धा २९२, शुरु क्षेत्राधिकार तर्फबाट ११८, रिट क्षेत्राधिकार तर्फका ३८ गरी ११६८ रहेका छन् ।

गण्डकी प्रदेशका जिल्ला तह अन्तर्गत बागलुङ इजलासबाट ३६७ फछ्र्यौट भएका र १०६ बाँकी रहेका छन् । नवलपुरमा १२५४ मुद्धा फछ्र्यौट भएका र बाँकी ११४१ बाँकी रहेका छन् ।

गोरखामा ६३५ फछ्र्यौट भएका र २६० बाँकी रहेका छन् । लमजुङमा ५२९ फछ्र्र्यौट र २८२ बाँकी रहेका छन् । मनाङमा १४ वटा फछ्र्यौट भएका छन् भने बाँकी १ रहेको छ । तनहुँमा १३४२ मुद्धा फछ्र्यौट भएका छन् भने ११५५ बाँकी रहेका छन् ।

कास्कीमा २९९५ फछ्र्यौट, बाँकी २५४८ वटा रहेका छन् । स्याङ्जामा ७३६ फछ्र्यौट र बाँकी ४४० वटा रहेका छन् । बागलुङमा ४५३ फछ्र्यौट र ३८८ बाँकी रहेका छन् । पर्वतमा ३५३ फछ्यौट र बाँकी २२९ बाँकी रहेका छन् । मुस्ताङमा ३४ फछ्र्यौट भएका र ९ वटा बाँकी रहेका छन् । म्याग्दीमा ४७८ फछ्र्यौट भएका र बाँकी १५१ वटा मुद्धा रहेका छन् ।

यस वर्ष १४९ वटा मुद्धालाई मेलमिलापको लागि पठाईएकोमा १८ थान सफल, १३ थान चालू र ११८ थान असफल भएका उच्च अदालत पोखराले जनाएको छ । अदालतमा मेलमिलापकर्ताको सूची संख्या २४ रहेको छ । अदालतमा १०३ वटा मुद्धामा थुनुवा पुरुषका ९१, महिला ७ र बालबालिकाका ५ रहेका छन् । महिला पक्ष भएका चालू मुद्धा १७८, जेष्ठ नागरिक पक्ष भएका २९ थान र बालबालिका पक्ष भएका मुद्धा ६० थान रहेका छन् ।

कार्यक्रममा उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधिश आचार्यले अदालतको वार्षिक कार्ययोजनामा कानुन व्यवसायीबाट कारागारको भ्रमण, परामर्श सेवा, अदालत बाहिर गएर कार्यक्रम गरिएको, सेवाग्राहीसंगको व्यवहार बारे प्रशिक्षण, फैसला टिपोट र लेखनको तालिम, संहिता तालिम, फरक मुद्धा बारे प्रशिक्षण, बार, सरकारी वकिलसंग छलफल, न्याय क्षेत्र समन्वय समितिसंग बैठक लगायतका कार्यक्रमहरु गरिएको बताए । उच्च अदालत पोखरामा ७२ जनाको दरबन्दि रहेको छ । ७ जना न्यायाधिशमा २ पद रिक्त रहेका छन् ।

कार्यक्रममा इन्सेक गण्डकीका संयोजक शिव खकुरेल, शान्तिका लागि नागरिक समाजको संजाल कास्कीका अध्यक्ष बिना सिलवाल, राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका अधिकृत टंक खनाल, शिक्षासेवी अशोक पालिखे, समाजसेवी कर्म गुरुङ र उपस्थित पत्रकारहरुले अदालती ढिलासुस्ति, फैसला कार्यान्वयन का खराब पक्षहरु र कारबाहीकाे पहलका बारेमा जिज्ञासा राखेका थिए।