निष्काशनकाे पहिलो दिनमै श्वेत-गंगा हाइड्रोकाे सेयर ओभरसब्सक्राइब्ड, कतिले दिए आवेदन ?

-



     सफल आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ साउन । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडले निष्काशन गरेको सेयरमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पेश भएको छ।

कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि रु १०० अंकित दरको २३ लाख ८९ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएकोमा पहिलो दिनकै ओभरसब्सक्राइब्ड भएको हो ।

सिडिएस एण्ड क्लियरिङका अनुसार बेलुकासम्म ३ लाख ५० हजार ४९८ आवेदन परेको छ भने ४० करोड ९२ लाख ४५ हजार रुपैयाँ बराबरको ४० लाख ९२ हजार ४५० कित्ता सेयर माग गरिएको हो । यो माग सर्वसाधारण जनताका लागि निष्काशन गरिएको २२ लाख ७० हजार २५ कित्ताको १.८० गुणा बढी हो ।

कम्पनीको जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले अर्थात २३ लाख ८९ हजार ५०० कित्ता सेयर निष्काशन गरीएको हो । त्यसमा सामुहिक लगानी कोषका लागि १ लाख १९ हजार ४७५ कित्ता छुट्याईएको छ । बाँकी रहने २२ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि रहेको छ ।

सेयरमा आवेदन दिन म्याद साउन ८ गतेसम्म तोकिएको छ । माग गरेकोभन्दा बढी आवेदा निष्काशन भएको पहिलो दिनमै ओभर सब्सक्राइब्ड भएपछि सो दिन पछि आवेदन पेश गर्न सकिने छैन । लगानीकर्ताले घटिमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।