बिल गेट्सद्वारा ६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति दान

-



     सफल आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित



वाशिङ्टन, ९ साउन । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले यो हप्ता आफ्ना परोपकारी संस्थालाई ६ अर्ब अमेरिकी डलरभन्दा बढी रकम बराबरको सेयर प्रदान गरेका छन्।

अन्तरराष्ट्रिय सञ्चारमाध्यम ब्लूमबर्ग र फोर्ब्सका अनुसार उनले क्यानेडियन नेशनल रेलवेलाई करिब ५.२ अर्ब डलर मूल्यको सेयर बिल एन्ड मेलिण्डा गेट्स फाउन्डेशनबाट प्रदान गरेका हुन।

यसैगरी उनले बिहीबार डियर एण्ड कम्पनीलाई साढे ९९ करोड अमेरिकी डलर दान गरेका छन्। यति धेरै रकम दान गरिसक्दा पनि उनी विश्वका धनाढ्यहरुको सूचीमा पाँचौं नम्बरमा रहेको एजेन्सीहरुले जनाएका छन्।

उक्त सम्पत्ति दान गर्ने क्रममा गेट्सको लगानी रहेको क्यास्केड इन्भेष्टमेन्ट एलएलसीबाट ३० लाख अमेरिकी डलरभन्दा बढीको सेयर निजी गैर-नाफामुखी संस्थामा सारिएको थियो। समाचार संस्था ब्लूमबर्गका अनुसार दानपछि गेट्स विश्वका धनाढ्यको सूचीमा ११२ अर्ब अमेरिकी डलरसहित एलन मस्क, जेफ बेजोस, बर्नाड अर्नाल्ट र भारतका गौतम अडानीभन्दा पछि पाँचौं नम्बरमा पुगेका छन्।

गेट्सले अघिल्लो हप्ता परोपकारी संस्थाहरुलाई २० अर्ब डलर दान गर्ने वाचा गरेका थिए भने निकट भविष्यमा आफ्नो लगभग सबै सम्पत्ति दान गर्ने योजना बनाएका ब्लूमबर्गले उल्लेख गरेको छ । उनको बिल एन्ड मेलिण्डा गेट्स फाउन्डेसनले आफ्नो वार्षिक दानलाई २०२६ सम्ममा ९ अर्ब अमेरिकी डलर पुर्याउने प्रतिबद्धता घोषणा गरेको थियो।