रुसद्वारा युक्रेनमाथि घातक क्षेप्यास्त्र आक्रमण

-



     सफल आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित



किएभ, १२ साउन । रूसी सेनाले यूक्रेनको राजधानी किएभ वरपर तथा चेर्निहाइभ क्षेत्रमा घातक क्षेप्यास्त्र आक्रमण गरेको छ । यो आक्रमण यसअघिको भन्दा निकै विशाल एवम् शक्तिशाली भएको बताइएको छ ।

युक्रेनले देशको दक्षिण भागमा कब्जा गरिएका क्षेत्रलाई मुक्त गर्न कारबाही जारी राखेका बेला रूसी आक्रमण तीव्र गतिमा भएको बुझिएको छ । ब्यासगोरोड जिल्लाका धेरै स्थानमा बिहीबार बिहानै गरिएको क्षेप्यास्त्र प्रहारबाट भएको हताहतीको स्पष्ट विवरण प्राप्त भएको छैन ।

चेर्निहाइभका गभर्नर व्याचेस्लाभ चाउसले बेलारुसको क्षेत्रबाट होनचारिभस्का गाउँमा धेरै मिसाइलहरू प्रहार गरिएको जानकारी दिएका छन् । रूसका योजना आफ्ना सैनिकले चकनाचुर पारेका र अन्तिम समयसम्म लडिरहने युक्रेनी अधिकारीहरूले बताएका छन् ।

यसअघि पनि किएभ र चेर्निहाइभ क्षेत्र कब्जा गर्न असफल भएपछि रूसी सेना पछि हटेका थिए । युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पनि गोलाबारीको चपेटामा परेको छ । युक्रेनी सेनाले कब्जा गरेको दक्षिणी क्षेत्र खेरसनमा जवाफी हमला जारी राखेको छ ।