
पाेखरा, १४ साउन । गण्डकी प्रदेशसभा बैठकले गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए।
यसअघि विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य राजीव पहारीले गण्डकी प्रदेश आफैँमा पर्यटकीयस्थल भएको बताए। प्रकृति, संस्कृति एवम् साहसिक पर्यटनका दृष्टिले यो प्रदेश महत्वपूर्ण रहेको उनले बताए। प्रदेशको समृद्धिका लागि पर्यटन महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे। बाह्य पर्यटक मात्र नभई आन्तरिक पर्यटक कसरी बढाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए।
अर्का सदस्य मनकुमारी गुरुङले विधेयक महत्वपूर्ण भएको बताउँदै गण्डकी र पर्यटन एक अर्काका परिपूरक भएको बताइन। प्रकृतिप्रदत्त धेरै सम्पदा गण्डकी प्रदेशमा रहेको बताउँदै उनले विधेयक अझै चाँडो आउनुपर्ने बताइन। प्रदेशको समृद्धिका लागि विधेयक महत्वपूर्ण बन्ने उनले बताइन। प्रदेशसभा सदस्य गायत्री गुरुङले सरकारले मिहिनेतका साथ विधेयक ल्याएको बताइन। समृद्ध प्रदेश बनाउने आधार पर्यटन हो भनिए पनि सुरुमै आउनुपर्ने विधेयक ढिला भएको उनले बताइन।
विधेयक माथिका प्रश्नको जवाफ दिँदै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधेयक सरोकारवालासँग पटक पटक छलफल गरी ल्याइएको बताए। प्रदेशका जनतालाई सुखी र समृद्ध बनाउनका लागि पर्यटनलाई प्राथमिकतामा राखिएको उनले बताए।
बैठकको विशेष समयमा रोशनबहादुर गाहा थापाले नवपरासीको बर्दाघाट सुस्ता पूर्वमा केही समययता नारायणी, लौकाहा, अरुण, विनय लगायतका खोलाका कारण पानीको बहाव बढेर खेत कटान गरेको बताए। कटानका कारण भएको खेती र जमिन बचाउँदै पीडितलाई क्षतिपूर्ति र राहत व्यवस्था गर्नुपर्ने उनले बताए।
अर्का सदस्य आशा कोइरालाले तनहुँको दक्षिण पश्चिम ढोरबाराही मार्ग क्षतिग्रस्त बनेको भन्दै सरकारको ध्यानाकर्षण गराइन । बैठकको विशेष तथा शून्य समयमा पियारी थापा, इन्द्रलाल सापकोटा, धनमाया पोखरेल, मीनप्रसाद गुरुङ, राजीव पहारी, ललितकला गुरुङ लगायतले मूल्यवृद्धि, बाढीपहिराको प्रकोप लगायतका विषयमा सरकार तथा सदनको ध्यानाकर्षण गराए ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



