दुई सातामै बैंकिङ्ग प्रणालीबाट १ खर्ब निक्षेप गायब, कर्जा लगानी पनि घट्याे

-



     सफल आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ साउन । चालु आर्थिक वर्ष शुरूपछि बैंकिङ प्रणालीमा निक्षेप संकलन लगातार घट्दो क्रममा देखिएको छ। साउनको पहिलो दुई सातामा नै बैंकहरूको निक्षेप संकलन ९१ अब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार शुक्रबारसम्ममा बैंकहरूसँग ४४ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप रहेको छ। गत असार मसान्तसम्ममा निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो ।

साउन पहिलो साता ६४ अर्बले घटेको निक्षेप दोस्रो साता पनि २८ अर्ब रुपैयाँले घटेको छ। शुक्रबार यता पनि बैंकहरूमा निक्षेप घट्ने क्रम रोकिएको छैन। सोमबारसम्म बैंकहरूको निक्षेप संकलन ४४ खर्ब ४१ अर्ब रुपैयाँमा झरेको तथ्यांकले देखाएको छ । यसको मतलब साउन यता बैंकहरूको निक्षेप संकलन १ खर्ब रुपैयाँले घटिसकेको छ।

कर्जा लगानी पनि घट्दो क्रममा

साउनमा बैंकहरूको कर्जा लगानी पनि घट्दो क्रममा नै देखिएको छ। असार अन्तिममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा दिएका बैंकहरूको कर्जा लगानी साउन १३ गतेसम्ममा घटेर ४१ खर्ब ६४ अर्ब रुपैयाँमा झरेको छ । जुन ११ अर्ब रुपैयाँले कम हो।

यसरी बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिदै जाँदा बैंकहरूको सीडी रेसियो बढ्दै गएको छ। गत शुक्रबारसम्मको तथ्यांक अनुसार नै बैंकहरूको औसत सीडी रेसियो ८७.९८ प्रतिशत पुगिसकेको बैंकर्स संघले जनाएको छ। अहिले बैंकहरूले तरलता व्यवस्थापनका लागि महंगो दरमा नै अन्तरबैंक सापटी लिइरहेका छन्।

बैंकहरूले साढे ८ प्रतिशतभन्दा पनि माथि गएर अन्तरबैंक सापटी लिइरहेको केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार अन्तरबैंक सापटीको दर ८.५७ प्रतिशत कायम भएको छ। गत साता पनि अन्तरबैंक दर ८.५५ प्रतिशतसम्म कायम भएको थियो।

राष्ट्र बैंकले साढे ८ प्रतिशत ब्याजदरमा एसएलएफ सुविधा उपलब्ध गराउने भए पनि मौद्रिक नीतिमार्फत त्यसमा सिमा तोकिदिएपछि बैंकहरूले महँगो व्याजदरमा नै अन्तरबैंक सापटी लिन थालेका हुन् ।