बीमा सम्बन्धी जनचेतनामा अभिवृद्धि भएकाे छ : सर्वेक्षण

-



     सफल आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ साउन । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले जीवन बीमा सम्बन्धी देशैभर गरेको सर्वेक्षणमा सर्वसाधारणमा बीमा सम्बन्धी जनचेतनामा अभिवृद्धि भएको पाइएको छ ।

बैंक बीमा कम्पनी र उद्योग व्यवसायलाई सहयोग र सल्लाह दिने उद्देश्यले स्थापित यो कम्पनीले गएको २०७८ चैत्र महिनामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ३१ जिल्लाको ४८ स्थानमा बीमा सम्बन्धी गतिविधिलाई लिएर सर्वेक्षण सम्पन्न  गरेको हो । सर्वेक्षणमा जीवन बीमा गरिसकेका ४९२ जना बीमित सहभागी रहेका र तीमध्ये १९० महिला र ३०२ पुरुष रहेका कम्पनीले जनाएको छ ।

उक्त सर्वेक्षणमा  प्रत्येक क्षेत्रबाट न्यूनतम ५ र बढीमा १० जना बीमितहरुलाई समावेश गरिएको थियो। प्राप्त तथ्याङ्कहरुको निष्कर्ष अनुसार जीवन बीमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गएको पाइएको कम्पनीको दावी छ ।

कम्पनीका अनुसार बीमा समितिको तथ्याङ्कमा बीमाको कभरेज १० वर्षभित्र ७ प्रतिशतबाट बढेर ३५ प्रतिशत माथि पुगिसकेको र दबाबमा बीमा गर्नेभन्दा स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको पुष्टि भएको छ ।

सहभागीहरुलाई बीमा किन गर्नु भएको? भन्ने प्रश्नमा ८९ प्रतिशतले आवश्यकता बुझेर गरेको, ८ प्रतिशतले अभिकर्ताको दवावमा बीमा गरेको र ३ प्रतिशतले देखासिकीमा गरेको जवाफ दिएका छन् । बीमा कसरी गर्नु भएको? भन्ने प्रश्नमा ३७ प्रतिशतले आफैले सम्पर्क गरेर गरेको,  ६१ प्रतिशतले अभिकर्ताले सम्पर्क गरेर बुझाएपछि गरेको र ३ प्रतिशतले  अरुले गरेको देखेर बीमा गरेको बताएको सर्वेक्षणमा उल्लेख छ ।

यस्तै खरिद गरेको बीमा पोलिसीको छनोट कसरी गर्नु भयो? भन्ने प्रश्नमा ८० प्रतिशतले आफैँले पोलिसी विषयमा बुझेर गरेको , १८ प्रतिशतले अभिकर्ताले भने अनुसार खरिद गरेको र २ प्रतिशतले  पोलिसी विषयमा केही थाहा नभएको बताएका कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारी दिए ।