८ सय ८८ नयाँ सङ्क्रमित थपिए, १ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण ३० गते २०७९ मा प्रकाशित



काठमाण्डौ, ३० साउन । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ५ हजार ७३७ जनाको नमूना परीक्षण गरिएकोमा ८ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

३ हजार १५५ जनाको पीसीआर गर्दा ४२७ तथा २ हजार ५८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६१ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा ४ सय ७४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित सङ्ख्या ५ हजार ३ सय ८७ पुगेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभरमा १ लाख ५० हजार ६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका तथ्याङ्क मन्त्रालयले अद्यावधिक गरेको छ । कोरोना सङ्क्रमण तथा मृत्युदर बढ्दै गएपछि केही समयअघिदेखि सरकारले सबैलाई मास्क लगाउने, हात धुने, भिडभाडमा नजाने लगायतका सुरक्षा उपायहरु अवलम्बन गर्न आग्रह गर्दै आएको छ ।