७५२ स्थानीय तहमा पुग्यो वाणिज्य बैंकको पहुँच

-



     सफल आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ भदौ । गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म नेपालका कुल ७५३ मध्ये ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । यो विस्तार अघिल्लो आर्थिक वर्ष अर्थात् २०७८ को सोही अवधिसम्म ७५० स्थानीय तहमा भएको थियो । यसरी हेर्दा १ वर्षमा २ ओटा स्थानीय निकायमा वाणिज्य बैंकहरुकाे शाखा विस्तार भएकाे देखिन्छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको वित्तीय विरणमा यो आँकडा उल्लेख गरिएको छ ।

विवरण अनुसार केन्द्रीय बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ असार मसान्तमा १२६ रहेको छ । तीमध्ये २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।

यस्ता बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १०,६८३ रहेकोमा २०७९ असार मसान्तमा ११,५२८ पुगेको छ । यसरी हेर्दा बैंक तथा वित्तीय संस्थाका शाखा एक वर्षमा ८४५ ओटा वृद्धि भएको पाइएको छ ।