बरुण हाइड्रोपावरको हकप्रद बिक्री रोकिनुको यस्तो छ कारण

-



     सफल आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ भदौ । आजैबाट खुला गरिएको बरुण हाइड्रोपावरको हकप्रद सेयरको बिक्री बन्द भएको छ । सिडिएस एन्ड क्लियरिङका अनुसार कम्पनीको बिक्री प्रबन्धक आरबिबि मर्चेण्टले गलत तथ्याङ्क राखेका कारण उक्त हाइड्रोपावरको हकप्रद सेयर बिक्री बन्द गर्नुपरेको हो ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले आजको मितिबाट १ सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको थियो ।

गत साउन २ गते कम्पनीले बुक क्लोज गरेर हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको थियो । साउन १ गतेसम्म नेप्सेमा कारोबार भएर कायम भएका कम्पनीका सेयरधनीहरु उक्त हकप्रदका लागि योग्य हुने कम्पनीले जनाएको छ ।

आज बिक्री बन्द हुनुको मुख्य कारणमा साउन १ गतेअघि नै शेयर खरिद गरेका लगानीकर्ताले पनि मेरो शेयरमा आफूसँग भएको १ बराबर १ शेयरको अनुपातमा हकप्रद भर्न नपाउनु रहेको छ । सिडिएस एन्ड क्लियरिङले उक्त हाइड्रोको बिक्री प्रबन्धकले विवरण नसच्याएसम्म हकप्रद सेयर बिक्री बन्द हुने जानकारी दिएको छ ।