बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको अन्तरराष्ट्रिय अपिल

-



     सफल आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित



इश्लामावाद, १५ भदौ । पाकिस्तानी प्रधानमन्त्री बाढीपीडितलाई सहयोग गर्न अन्तरराष्ट्रिय रुपमा अपिल गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराब रुपमा प्रभावित पारेको बताउँदै सहयोगका लागि अपिल गरेका हुन् ।

उनले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गरेको समाचारमा जनाइएको छ । बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौँ लाख भएकाले उनीहरुको उद्धार, पुनर्स्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै यसका लागि उनले आग्रह गरेका हुन् ।

यहाँका कैयौँ प्रान्तमा बाढीले गरेको क्षति न्यूनीकरणका लागि सरकारले प्रयत्न गरिरहेको भए पनि सबै नागरिकलाई बास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन । त्यसैले उनीहरुलाई राहत र पुनर्स्थापनाका लागि ठूलो मात्रामा आर्थिक सहयोग आवश्यक परेको भन्दै अन्तरराष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका हुन् । 

 पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ । यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । यहाँ गएको हप्तादेखि अविरलरुपमा वर्षा भएको छ ।

 राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो । यहाँका एक हजार छ सय ३४ जना घाइते भई अस्पतालमा रहेका छन् ।

 पाकिस्तानी अधिकारीका अनुसार यहाँका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी र त्यसपछि आएको पहिरोबाट बढी मात्रामा प्रभावित छन् । बाढी र पहिरोले सडक बगाएको, पशु चौपाया बगाएको, पुल भत्काएको तथा ठूलो क्षेत्रमा लगाएको बाली पनि नष्ट गरिदिएको बताइएको छ ।