२ सय ६९ कोरोना सङ्क्रमित थपिए, १ जनाको मृत्यु

-



     सफल आवाज    
     भाद्र १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ भदौ । पछिल्लो २४ घण्टामा देशभर २ सय ६९ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रसारण गरेको नियमित बुलेटिन अनुसार उक्त अवधिमा ५ हजार ५ सय ५७ जनाको परीक्षण गरिएकामा २ सय ६९ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ सय १५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । आज थपिएको आँकडासँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको ज्यान गएको छ । ५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर परेका छन् भने सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला र मुगु रहेका मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये होम आइसोलेसनमा ३ हजार ४, संस्थागत आइसोलेसनमा १ सय ५४, सघन उपचार कक्षमा ४६ र भेन्टिलेटरमा ७ जनाको उपचार भइरहेको छ । आज कसैले पनि कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् ।