मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशमै प्रथम

-



     सफल आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित



लमजुङ, १९ भदौ । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट  प्रथम भएको छ । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास,  गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा ८५ पालिकामध्येबाट उक्त नगरपालिका प्रथम भएको हो ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्रीराम तिवारीका अनुसार बागलुङ बजारमा गरिएको आर्थिक वर्ष २०७८-७९ को प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पालिकाहरुलाई १ सय नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी ८७.४ अङ्क प्राप्त गर्दै मध्यनेपाल नगरपालिका प्रथम स्थानमा आएको हो ।

गण्डकी प्रदेशका सात जिल्लाहरुको सरकारी अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद औषधालयका स्वास्थ्यकर्मी सहभागी उक्त समीक्षा कार्यक्रममा पर्वत जिल्लाको पैयु गाउँपालिका दोस्रो र म्याग्दीको बेनी नगरपालिका तेस्रो भएको छ ।

पैयुँले ८६.२ र बेनीले ८५ अङ्क प्राप्त गरेका जनाइएको छ । गत वर्ष पालिकाले लिएको स्वास्थ्य योजना, बजेट, दुर्गमता, स्वास्थ्य क्षेत्रमा भएको प्रगति र न्यूनतम स्वास्थ्य मापदण्डलगायत सूचकका आधारमा नम्बर  दिइएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिम बहादुर खड्काले बताए ।