क्यानडामा श्रृङ्खलाबद्ध चक्कु प्रहार गरी १० जनाको हत्या

-



     सफल आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित



क्यानडा, २० भदौ । क्यानडामा भएको श्रृङ्खलाबद्ध चक्कु प्रहारबाट १०  जनाको हत्या भएको छ भने १५ जना घाइते भएका छन् । क्यानडाका १३ ओटा फरक फरक ठाउँमा गरिएको चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले जनाएको छ ।

स्‍थानीय प्रहरीले उक्त हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको बताउँदै उनीहरुको फोटो पनि सार्वजनिक गरेको छ । प्रहरीका अनुसार हमलापछि उनीहरु कालो कार चढेर भागेको र पक्राउ गर्नका लागि खोजी अभियान चलाइएको छ ।

उनीहरुले हतियार बोकेकाले खतरा हुनसक्ने भन्दै प्रहरीले स्थानीयलाई घर भित्रै रहन सुझाव दिएको छ । यसबाहेक चालकहरुलाई पनि कसैलाई लिफ्ट नदिन सुझाइएको छ साथै विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर चेकिङमा कडाइ गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो आक्रमणलाई भयावह भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले ज्यान गुमाएकाका आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।