बाँकेमा डेङ्गु सङ्क्रमित बढ्दै

-



     सफल आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित



बाँके, २४ भदौ । बाँके जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमण बढिरहेको छ । हालसम्मा बाँके जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण भेटिसकिएको छ । 

यी ११ सङ्क्रमितमध्ये ८ जना जिल्लाभित्रकै भएको भेटिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् । गत बारमात्रै डेङ्गुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका ५, कोहलपुर नगरपालिकाका २ र बैजनाथ गाउँपालिकाका १ जना छन् । अन्य ३ जनामा भने बुटवल र काठमाडौँ आवतजावत गर्दा सङ्क्रमण भएको पाइएको छ । 

यस्तै भेरी अस्पताल नेपालगञ्जमा पनि डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको पाइएको छ । अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालका अनुसार डेङ्गु र भाइरल ज्वरोका बिरामी बढ्दै गएको र दमका रोगीसमेत बढ्न थालेका छन् । 

‘अस्पताल भरिभराउ छ, बिरामी धेरै छन्’, उनले भने । डा. रिसालले लामखुट्टेबाट बच्नु नै डेङ्गुको सङ्क्रमणबाट जोगिनु भएको उल्लेख गर्दै त्यसबाट बच्न लामखुट्टेको बासस्थान नै नष्ट गर्न आवश्यक भएको बताए । यसै क्रममा नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु सङ्क्रमित भेटिएपछि लामखुट्टेका लार्भा र फुल नष्ट गर्न थालिएको छ ।