पाँचपोखरी थाङपाललाई पर्यटकीय ‘हब’ बनाइँदै

-



     सफल आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित



सिन्धुपाल्चोक, २४ भदौ । सिन्धुपाल्चोक जिल्लामा रहेको पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय आकर्षकस्थल ९हब० बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ । समुद्री सतहबाट करिब ४ हजार १ सय ५१ मिटर उचाइमा रहेको पाँचपोखरी एक प्रमुख पर्यटकीय आकर्षक गन्तव्य हो ।

यसबाहेक पालिकाभित्र रहेका आमायाङ्ग्री डाँडा, ऐतिहासिकस्थल मेन्जुम, ड्रागन गुफा, हवेली, पाँचपोखरीभन्दा माथि रहेको ऐतिहासिक मानव, जुगल हिमश्रृखला, नागी थामडाँडा, च्योचो डाँडा, नौलिङेश्वर महादेव जस्ता प्राकृतिक मनोरम धार्मिकस्थल रहेकाले पर्यटन ‘हब’ बनाउन सहज हुने पालिका अध्यक्ष टासी लामाले बताए ।

पालिका अध्यक्ष लामाका अनुसार प्राकृतिक मात्रै नभएर सांस्कृतिक एवं धार्मिक मान्यताका रूपमा पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिनेछ । गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीका अनुसार पर्यटन प्रवर्द्धनका लागि सबैभन्दा महत्वपूर्ण कुरा यातायात भएकाले यसलाई प्राथकितामा राखिएको छ । उनले मेलम्ची र इन्द्रावतीमा आएको बाढीले केही समस्या भएको बताउँदै हिमाली गाउँपालिका भए पनि फरक विशेषता भएको यस क्षेत्रको माथिल्लो भू–भागमा स्याउ फल्ने र तल्लो भागमा भने धान उत्पादन हुने जानकारी दिइन् ।

पालिकाले महत्वाकांक्षी योजनाको रूपमा पाँचपोखरीसम्म केबलकार निर्माण गर्ने योजना बनाएको छ । गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार राख्न प्रारम्भिक प्रतिवेदन तयार गरिएको गाउँपलिकाले जनाएको छ ।

भोताङको छिम्ती देउरालीबाट लौरीबिनायकसम्म राखिने केबलकारको लम्बाइ ६.५ किमी हुने बताइएको छ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने उक्त प्रतिवेदनमा उल्लेख छ जसको निर्माणमा झण्डै दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

केबलकार सञ्चालनमा आएपछि स्थानीय युवाले रोजगारी पाउने वडा नम्बर –३ भोताङका वडाध्यक्ष निमाछिरिङ तामाङको भनाइ छ । वडाध्यक्ष तामाङका अनुसार यसका लागि दुईवटा वैकल्पिक बाटो समेत निर्माण भइरहेको छ ।

मेलम्ची– भोताङ मोटरबाटोलाई कालोपत्र गर्ने र हेलम्बुसँग जोडिएको आमा याङ्ग्री तथा लाङटाङ घुम्न आउने पर्यटकलाई पाँचपोखरी तान्न जान्जालापास क्षेत्रमा बाटो जोड्ने काम भइरहेको उनले बताए ।