बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव छ: डेपुटी गभर्नर मिश्र

-



     सफल आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभावभन्दा पनि लगानीयोग्य पुँजीको अभाव भएको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो विचार व्यक्त गरेका हुन् ।

विदेशी राष्ट्रको समेत प्रतिनिधित्व भएको उक्त सम्मेलनमा डेपुटी गभर्नर मिश्रले बारम्बार तरलताको चाप रहेको भन्दा बाहिर राम्रो सन्देश नजाने बताउँदै बैंकहरुबाट ऋणपत्र (बण्ड) जारी गरेर पूर्वाधार विकासको लागि बृहत् लगानी जुटाउन सकिने बताए ।

मिश्रले बैंकहरूले ५ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको बण्ड निष्कासन गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको बताउँदै राष्ट्र बैंकको नीति अनुसार ५ खर्ब ८ अर्बको पूर्वाधार निर्माणमा लगानी जुटाउन सकिने जानकारी दिए ।

उनले हालसम्म बैंकहरूले १ खर्ब ३० अर्ब रुपैयाँको बण्ड जारी गरिसकेको र पूर्वाधार निर्माणमा थप लगानीका लागि बाहिरबाट ऋण लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको बताए । सरकारले पीपीए खुलाएको र त्यसपछि नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष तथा अन्य बैंकरलाई बोलाएर छलफल गरेको बताए ।

यसैगरी उक्त कार्यक्रममा बोल्दै नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष अनिल उपाध्यायले सरकारका तीन वटा बैंकले पूर्वाधार निर्माणमा वैदेशिक लगानी ल्याएर तत्काल सहयोग गर्नसक्ने विचार व्यक्त गरे ।

विदेशी लगानी ल्याउनको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको मात्रै जिम्मेवारी नभएको र विदेशी लगानी ल्याउनको लागि बैंक व्यवस्थापनको पनि सहकार्य आवश्यक रहेको अध्यक्ष उपाध्यायको भनाइ थियो ।