
बैतडी, २९ भदौ । बैतडीमा पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा मात्रै साउनयता १ सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए ।
जिल्ला अस्पतालमा मात्र नभई जिल्लाका अन्य स्वास्थ्य संस्थामा डेङ्गु र स्क्रब टाइफस सङ्क्रमित फेला पर्न थालेका स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा डेङ्गु र स्क्रब टाइफस देखापर्ने गरेको बताइएको छ । परीक्षण नगराएका व्यक्तिमा समेत डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
जिल्ला अस्पतालमा हाल दैनिकरूपमा डेङ्गु र स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए । डेङ्गु र स्क्रब टाइफस लक्षण देखिए समयमा नै अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै सङ्क्रमण बारेमा जानकारी हुने उनको भनाइ छ ।
अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा डेङ्गु र स्क्रब टाइफस छ कि छैन भनेर परीक्षण गरिरहेको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले बताए । उनले भने, ‘केही सङ्क्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ, दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरुरी छ ।’
पछिल्लो समय दिनप्रतिदिन यहाँ डेङ्गु र स्क्रब टाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ । अहिले गाउँगाउँमा ज्वरोका बिरामी रहेकाले तीमध्ये कसैलाई डेङ्गु र स्क्रब टाइफससमेत हुनक्ने भएकाले परीक्षण गर्न भनिएको छ ।
वर्षायाममा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका हुन् । पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको र स्क्रब टाइफसले ज्यानै लिन सक्छ ।
‘माइट’ नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । साथै एडिज इजिप्सी जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ । मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाई र पखाला चल्ने, सास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।
यसैबीच स्वास्थ्य कार्यालयले डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि सचेतनामूलक र सरसफाइ अभियान सञ्चालन गरेको छ । डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले सदरमुकाम क्षेत्रका पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




