
काठमाडौं, १ असोज । गृहमन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । सहमतिपछि सङ्घर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएकाे आन्दोलनका कार्यक्रम स्थगित गर्ने जनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको समुपस्थितिमा गृहमन्त्रालयमा आज भएको वार्तामा पाँचबुँदे सहमति भएको हो । सहमतिमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा भीष्मकुमार भुसाल तथा सङ्घर्ष समितिकोतर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरे।
मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानविन कार्यदलको सिफारिसबमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाका कारण मृत्युभएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ ।
त्यस्तै ऋणीले साँवाब्याज चुक्ता गरेपछि फिर्ता गर्नेगरी साहु वा निजले इच्छ्याएको व्यक्तिका नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएको तर कानुनसम्मतरुपले हुन आउने साँवाब्याज पुरै चुक्ता गर्दा र गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि साहुले उक्त जग्गा फिर्ता गर्न समन्वय गरी कानुनी व्यवस्था गर्ने सहमति भएको छ ।
सङ्घर्ष समितिले राखेका मागका सम्बन्धमा कार्यदलको प्रतिवेदनमा उल्लेखित सिफारिसको कार्यान्वयनका लागि अन्तर निकाय समन्वयगरी मन्त्रिपरिषद्ले लिनुपर्ने आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने सहमति पनि भएको छ ।
समितिका सदस्यले आफूहरुका माग पूरा गर्न सरकारले सहमति गरेकाले सबै आन्दोलनमा रहेकालाई जानकारी गराएर आन्दोलनका कार्यक्रम फिर्ता गर्ने बताएका छन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



