वस्तुको मूल्य र आर्थिक विकाससम्बन्धी बृहत् अन्तरक्रिया

-



     सफल आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ असोज । विश्व बैंकसँगको सहकार्यमा वस्तुको मूल्य र आर्थिक विकास सम्बन्धी बृहत अन्तरक्रिया बैठक सम्पन्न भएको छ । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजना गरेको अन्तरक्रिया बढेको मुद्रास्फीति, वित्तीय घाटा, विश्वव्यापी वस्तुको मूल्यवृद्धि र नेपालसहित दक्षिण एसियामा यसको प्रभावका विषयमा केन्द्रित रहेको थियो ।

साथै नेपालको अर्थतन्त्र भारतीय अर्थतन्त्रसँग जोडिएकोले भारतीय रुपैयाँसँगको अनपेगिङ गर्दा हुने फाइदा र बेफाइदाका विषयमा पनि अन्तरक्रियामा छलफल गरिएको थियो । यसबारेमा सिबिफिनका अध्यक्ष गोल्यानले भने, ‘जब भारतीय रुपैयाँलाई नेपाली रुपैयाँसँग अनपेग गर्ने कुरा आउँछ, यसले वस्तु र सेवाहरूको मूल्यहरू अझ बढाउनेछ जुन उपभोक्ताहरूलाई अझ गाह्रो हुनेछ ।’

अहिले प्रतिस्पर्धी क्षमता कमजोर भएर निर्यात घटिरहको, वित्तीय घाटा उच्च हुँदै गइरहेको तथा अन्य उदयमान चुनौतीहरूको सामना गर्न कठिन बन्दै गएको सन्दर्भमा अनपेगिङले निम्यताउने संकटका विषयमा पनि गम्भीर छलफल भएको थियो ।

कार्यक्रममा विश्व बैंकले उथलपुथलको समयमा पनि अवसरको सदुपयोग गर्ने वास्तविकतालाई मान्यता दिने खालका सुझाव दिएको छ । प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले दिगो आर्थिक वृद्धिका लागि स्वदेशी उत्पादन बढाउन, स्रोत परिचालन गरेर साना तथा मझौला व्यवसायीलाई प्रवर्द्धन गर्न र अनौपचारिक उद्यमलाई औपचारिक अर्थतन्त्रमा ल्याउन आवश्यक रहेको सुझाव दिए ।

सिबिफिनका अध्यक्ष गोल्यानले विश्व बैंकले नेपाल सरकारलाई दिँदै आएको ऋण र अनुदानलाई बैंक तथा वित्तीय संस्था मार्फत उपलब्ध गराइएमा यसले तरलताको हिसाबले बजारमा स्थायित्व ल्याउने, बजारमा मूल्य स्थिरता हुने र व्यवसायिक वातावरणमा सुधार हुने धारणा व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष नेपाल आर्थिक संघका कार्यकारी समिति सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पोषराज पाण्डेले व्यापार घाटा, कृषि क्षेत्रको वृद्धि, सामाजिक सुरक्षा सञ्जाल, वित्तीय घाटा लगायतका समस्याहरुको बारेमा चर्चा गरेका थिए ।

विश्व बैंकका प्रमुख अर्थशास्त्री डा. टिमरले दक्षिण एसियाले, श्रोत साधनको पर्याप्त सदुपयोग गर्दै विश्वस्तरमा पनि भइरहेको मूल्यवृद्धिको यथार्थलाई बेवास्ता नगरी तत्कालका लागि स्वदेशी उत्पादनमा वृद्धि गरेर परिस्थितिलाई समायोजन गर्नुपर्ने सुझाव दिए ।

आयात बढ्दै गएको अवस्थामा पनि नेपालले वैदेशिक स्रोतसाधनमा राम्रो पहुँच राख्ने भएकाले अहिले सोचे जस्तो अवस्था नरहेको भन्दै उनले संघीय सरकारका विभिन्न स्थानीय तहमा उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग गरी राजस्व परिचालनमा जोड दिनुपर्ने धारणा राखे । युक्रेन–रसिया युद्ध जस्ता विश्वव्यापी घटनाहरूले इन्धनको मूल्य वृद्धि भएका कारण विश्वव्यापी रुपमा नै खाद्यान्नको मूल्य बढाएको उनको भनाइ थियो ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशव बहादुर रायमाझी, सचिव कुशप्रसाद मल्ली, कार्यकारी समिति सदस्य महेन्द्र कुमार गोयल, प्रतापजंग पाण्डे, प्रा डा. हिरेन्द्र मान प्रधानलगायतको सहभागिता रहेको थियो । यसबाहेक विश्व बैंकका अर्थशास्त्रीलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. डिल्लीराज खनाल, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. रमेश पौडेल, सरस्वती बहुमुखी क्याम्पसका प्रा डा. सञ्जय आचार्य लगायत वरिष्ठ अर्थशास्त्रीले आफ्नो धारणा व्यक्त गरेका थिए ।