
काठमाडाैं, ६ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याणको माध्यमबाट मुलुकका उत्पीडित पिछडिएका समुदायको उत्थान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन । त्रिचालिसौँ सामाजिक सुरक्षा दिवसको मूल समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दिगो विकास र आवधिक लक्ष्य प्राप्तिका लागि सरकार गैरसरकारी सङ्घसंस्थासँग समन्वयात्मक ढङ्गले काम गर्न आवश्यक रहेको बताएका हुन ।
उनले सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असाहय वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिने भन्दै यसले समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताए । उनले सामाजिक संस्थाको लगानी र भूमिकालाई व्यवस्थित र पारदर्शी बनाउँदै प्राथमिकताका क्षेत्रमा सक्रियतापूर्वक परिचालन गरिनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले सामाजिक सङ्घसंस्थाहरू नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक रहेको भन्दै परिषद्लाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए । सामाजिक सेवाभावको पवित्र उद्देश्यले स्थापना भएको समाज कल्याण परिषद्ले बहुआयामिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउँदै उनले सामाजिक सङ्घसंस्थालाई देश र समाजप्रति उत्तरदायी बनाएर नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक रहेको बताए ।
सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउनुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको समेत प्रधानमन्त्री देउवाले बताए । उनले सामाजिक भावकासाथ सेवा प्रवाह गर्न र यसप्रति नयाँ पुस्तालाई आकर्षित गर्न सबैले निःस्वार्थभावले एकताबद्ध भई समाजको वृहत्तर हित, कल्याण एवं उत्थानका लागि लाग्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री देउवाले गैरसरकारी संस्थाहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययिता, स्थानीय आधारमुखी श्रम, सीप र प्रविधिको अत्यधिक उपयोगलाई प्रोत्साहन गर्नसके गैरसरकारी संस्थाको आवश्यक्ता र अपरिहार्यता बढ्ने बताएका थिए । जुन उद्देश्यले सामाजिक संस्था स्थापना भएका छन्, आर्थिक पारदर्शिता अपनाएर सहर केन्द्रितभन्दा पनि दुर्गम गाउँसम्म पुगेर जनताको सेवामा सक्रिय हुनुपर्नेमा उहाँको जोड थियो ।
सामाजिक सेवा दिवसका उपलक्ष्यमा समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसरमा समारोह आयोजना गरेको हो । यो वर्ष ‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घसंस्थाको योगदान’ भन्ने नाराका साथ सामाजिक दिवस मनाइएको छ । गैरसरकारी सामाजिक क्षेत्रलाई सङ्गठित गर्ने उद्देश्यले विसं २०४३ असोज ६ गते स्थापना भएको समाज कल्याण परिषद्को वार्षिकोत्सवका दिन हरेक वर्ष सामाजिक सेवा दिवस मनाइँदै आएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



