डीभी चिट्ठा प्रकरणमा किन पक्राऊ परे यी ९ जना?

-



     सफल आवाज    
     असाेज ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ असोज । अमेरिकी डीभी चिट्ठा परेपछि भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउन सहयोग गर्ने र पेश गर्ने गरी ९ जना पक्राऊ परेका छन् । प्रहरीले ती ९ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर भएर झापा दमक नगरपालिका-५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका-१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भएर काठमाडौं टोखा नगरपालिका बानियाँटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् ।

सँगै पक्राऊ परेका अन्यमा स्याङजा चापाकोट गाउँपालिका-२ घर भएर काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका-६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका-१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका-५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका-८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यीमध्ये दिनेश प्रसाईं र सूर्य बहादुर श्रेष्ठलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाउन सहयोग गरेकोमा ईलाका प्रहरी कार्यालय दमक झापा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको भनाइ छ ।

कार्यालयका अनुसार पक्राऊ परेका सबै ९ जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसूरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।