नाइजेरियामा बाढीबाट २३ को मृत्यु, एक लाख बढी विस्थापित

-



     सफल आवाज    
     असाेज १२ गते २०७९ मा प्रकाशित



नाइजेरिया, १२ असोज । नाइजेरियामा बाढीका कारण २३ जनाको ज्यान गएको छ । बाढीकै कारण कम्तीमा पनि १ लाख १६ हजार जना विस्थापित भएका बताइएको छ । यो वर्षको मनसुनी वर्षाका कारण ती नागरिक विस्थापित हुन पुगेका बताइएको छ । उद्धार अधिकारीहरुले यहाँका नागरिक बाढीबाट धेरै विस्थापित हुन पुगेका र उनीहरुको पुनर्स्थापनाको पहल भइरहेको बताएका छन् ।

नाइजेरियाको मध्य प्रान्त बेन्युमा बाढीले बढी मात्रामा क्षति पुगेको जनाइएको छ । त्यस प्रान्तमा मे महिनादेखि नै बढीको प्रकोप सुरु भएको र यसमा परेर ठूलो मात्रामा भौतिक क्षति पुगेको पनि यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

यो प्रान्तका प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी विभागका प्रमुख इमानययल सिसोरले उक्त प्रान्तमा दशौँ हजार जना विस्थापित भएका र उनीहरुको पुनर्स्थापनाको काम निकै नै चुनौतीपूर्ण भएको बताएका छन् ।

यहाँका सयौँ हेक्टर जमिनमा लगाइएको बाली पनि बाढीले नष्ट गरिदिएकाले यहाँका नागरिकहरुलाई बासका साथै खाद्यान्नको पनि आवश्यकता परेको बताइएको छ । अधिकारीहरुले बाढीले यहाँका करिब पाँच हजार घर भत्काइदिएकाले दशौँ हजार नागरिक अस्थायी शिविरमा बस्दै आएका पनि जनाएका छन् ।