सातौँ पटक उम्मेदवारी दिँदै प्रधानमन्त्री देउवा

-



     सफल आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित



डडेल्धुरा, २३ असोज । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता गराउने भएका छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।     

प्रतिनिधिसभा सदस्यको निर्वाचनका कांग्रेस सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदवारी दिन लागेका छन् । उनको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले आज अपराह्न २ बजे मनोनयन दर्ता गराउने नेपाली बुझिएको छ । उम्मेदवारी दर्ताका लागि वारेसनामासहित प्रधानमन्त्री पत्नी डा राणा शनिबार बेलुका नै डडेल्धुरा आइपुगिसकेकी छिन् ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट विसं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी त्यस यताका सबै आमनिर्वाचनहरुमा निर्वाचित हुँदै आएका छन् । यसअघि विसं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा विसं २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए ।

उनी विसं २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो । त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् ।