भेनेजुएला पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुग्यो

-



     सफल आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित



काराकस, २५ असोज । भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । सो पहिरोमा परेर अरु ५६ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् । भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो खसेको थियो ।

भेनेजुएला सरकारले प्रभावित क्षेत्रमा ३ सय टन खाद्यान्न र पानी वितरण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । ३ हजारभन्दा बढी सदस्य, पुलिस र दमकल विभाग, नागरिक सुरक्षा एजेन्सी र बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरुलाई उद्धार प्रयासमा मद्दत गर्न खटाइएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले आइतबार उक्त दुर्घटनाको पुष्टि गरेका थिए । उनले आइतबारदेखि ३ दिनसम्म देशव्यापी रुपमा शोकको पनि घोषणा गरेका छन् ।

यहाँको उत्तरी आर्गु प्रान्तमा अविरल वर्षापछि नदीहरु बढेका र यसपछि आएको बाढीबाट पहिरो गएको पनि राष्ट्रपति मोदुरोको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्ति अनुसार राष्ट्रपति मोदुरोले विपदमा परेकालाई उद्धारका लागि खट्न पनि आग्रह गरिएको छ । पहिरोको नजिकका बस्तीहरुलाई पनि सार्न थालिएको छ । त्यसका लागि पनि उद्धारकर्मी तथा सुरक्षा निकायका अधिकारीहरुले खटिरहेका बताइएको छ ।