
तेहरान, २६ असोज । अमेरिकी प्रतिबन्धका कारण इरानी महिला जीवनदायी औषधिबाट वञ्चित भएका छन् । इरान सरकारका प्रवक्ताले अमेरिकी प्रतिबन्धका कारण इरानलाई जीवनदायी औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाउन कठिन भएको बताउँदै अमेरिकाको कठोर शब्दमा आलोचना गरेका छन् ।
सरकारका प्रवक्ता अली बहादुरी जाहरोमीले तेहरानमा मङ्गलबार भएको साप्ताहिक पत्रकार सम्मेलनमा औषधि बनाउने कच्चा सामग्रीबाट आफूहरुलाई वञ्चित गर्ने अमेरिकी कपट प्रष्ट भएको बताए । राम्ररी शिर नढाकेको अभियोगमा पक्राउ परेकी महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानी महिलाहरूको पक्षमा वकालत गरेको दावी गर्ने अमेरिकाको कपटपूर्ण व्यवहारको पर्दाफास भएको उनले बताए ।
२२ वर्षीया अमिनीको मृत्युपछि केही पश्चिमा देशले गरेका टिप्पणी र चालेका कदमको बारेमा बोल्दै जाहरोमीले उनका ती कदमले देशका महिलाहरूलाई समर्थन गर्ने बहानामा इरानमा दङ्गा भड्काउने उद्देश्य रहेको र त्यसबाट ती देशको दोहोरो मापदण्ड प्रकट भएको बताए । उनले इरानीहरूलाई आवश्यक औषधिमा पहुँच नदिनु अमानवीय भएको बताउँदै अमेरिकासहित पश्चिमा देशको आलोचना गरे ।
प्रवक्ता जाहरोमीले डेनमार्कको राजधानी कोपेनहेगनमा रहेको इरानको दूतावास परिसरमा शुक्रबार भएको आक्रमणलाई सङ्केत गर्दै इरानी राजदूत अफसानेह नादिपुर र अन्य कर्मचारीहरूलाई धम्की दिइएको तथा सवारीसाधनमा क्षति पुगेको अप्रत्यक्षरूपमा उल्लेख गरे ।
उनले इरान र विश्व शक्तिहरू बीचको सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका फिर्ता हुनु र इरानमा पुनः लगाइएको प्रतिबन्धले इरानी सरकारलाई आफ्ना जनताको अधिकारको रक्षा गर्न र प्रतिबन्धहरू हटाउन थप दृढ तुल्याएको बताए ।
संयुक्त राज्य अमेरिकाले औषधि र खाद्यवस्तुलगायत मानवीय वस्तुहरू प्रतिबन्धको सूचीमा समावेश नगरेको दावी गरे पनि इरानको तेल निर्यात र बैंकिङ क्षेत्रमा लगाइएको नाकाबन्दीले व्यवहारमा उसलाई त्यस्ता वस्तु आयात गर्नबाट वञ्चित गरेको इरानीहरुको भनाइ छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




