बाराही हाइड्रोपावरले कात्तिक ४ गतेदेखि सेयर निष्काशन गर्दै

-



     सफल आवाज    
     असाेज २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ असाेज । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि सेयर निष्काशन गर्न लागेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने भएकाे हाे ।

सेयरमा बाग्लुङ्गको जैमिनी नगरपालिकाका वडा नं. १, ४ र ५ अर्थात साविककाे कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस र जैमिनीका जनताले आवेदन दिन पाउनेछन्।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। यसका लागि कात्तिक १८ गतेसम्म आवेदन दिने मिति ताेकिएकाे छ । उक्त मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिने छ।

इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस दिएकाे छ। याे भनेकाे वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

सेयर लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरामा रहेकाे शाखा, कुमारी बैंकको राहालेमा रहेकाे शाखा तथा गरिमा विकास बैंकको ट्राफिक चोकमा रहेकाे शाखाबाट आवेदन दिन पाउनेछन्।

यस्तै सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखाहरुबाट आवेदन दिन पाइनेछ सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।