सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखिने

-



     सफल आवाज    
     असाेज २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ असोज । नाबालिग बलात्कारको आरोपमा हिरासतमा रहेका पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमै राखिने भएको छ । गत असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राऊ परेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले शुरुमा ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

जिल्ला अदालतले गत बिहीबार पक्राऊ परेकै दिनदेखि लागू हुनेगरी ७ दिनको म्याद दिएको थियो । बिहीबारै लामिछानेसँग घटनाका बारेमा बयान लिइएको थियो भने त्यसै क्रममा उनले आफू निर्दोष रहेको जिकिर गर्दै आफ्नो गोपनीयता भंग गरेकोमा कानूनी उपचार छ कि छैन भन्नेबारे अदालतसमक्ष जिज्ञासा पनि राखेका थिए । साथै लामिछानेले जाहेरीवालाकै आग्रहमा होटलमा गएको र उनी नाबालिग पनि नभएको दावी पनि गरेका थिए ।

७ दिनको म्याद सकिएकोले लामिछानेलाई आज २७ गते अदालतमा उपस्थित गराइएको थियो । बयान लिने क्रम जारी रहेकाले अदालतले थप ५ दिन हिरासतमा राखेर काम कारबाही अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको हो ।

बिहीबार लामिछानेले जाहेरीवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको आरोपितका वकिल सरोजकृष्ण घिमिरेले पनि दोहोर्याएका थिए । जाहेरीवालाले आफू १९ वर्षको भएको इजलास समक्ष बताएको घिमिरेले जानकारी दिएका थिए ।

अर्का अभिवक्ता सुधा रिजालले जाहेरीवालाको दुई ओटा जन्मदर्ता भेटिएको बताउँदै लामिछानेलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दावी गरेकी थिइन् । अहिलेको जन्मदर्तामा उनको उमेर बालिग देखिएको बताउँदै रिजालले लामिछानेलाई फसाउन खोज्नेहरुले ती जाहेरीवालालाई परिचालन गरेको आशंका  पनि व्यक्त गरेकी थिइन् ।