
पोखरा, २९ असोज । सयपत्री समाज कास्कीले शनिबार पोखरामा ‘स्वतन्त्र, स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन संचालनमा नागरिक संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।अन्तरक्रियाका वक्ताले यसमा नागरिक समाजको अत्यन्तै ठूलो भूमिका हुने बताए ।
नागरिक संस्थाबाट निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित निर्वाचन संचालन गर्न नागरिक शिक्षा प्रदान गर्ने, नागरिकका मुद्दा उठान गर्ने, निर्वाचन आचारसंहिता पालना गराउन खबरदारी गर्ने, उल्लंघन भएको पाइउ सम्बन्धित निकायमा जानकारी दिनुपर्ने, निर्वाचन क्रियाकलापको अनुगमन गर्ने, महिला, अल्पसंख्यक, दलित, अपांगता भएका व्यक्ति लगायत समावेशी समूहको पहुँच अभिवृद्धिमा सहयोग गर्ने विषयमा ध्यान दिनुपर्ने बताए ।
पृथ्वीनारायण क्याम्पस पोखराको राजनीतिक विभागका प्राडा उमानाथ बरालले ‘सबल लोकतन्त्रको आधार ः स्वतन्त्र र निष्पक्ष निर्वाचन’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै जसरी पनि निर्वाचन जित्नुपर्ने र त्यसपछि जवाफदेही नबने निर्वाचनतन्त्रको मानसिकता र अभ्यासबाट नेपाली राजनीति मुक्त हुनुपर्ने बताए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, तटस्थ लोकतान्त्रिक विषय र प्रक्रियाका रुपमा राज्यका संस्थाहरु, राजनीतिक दलहरु तथा गैरराज्य शक्तिहरुले आत्मसाथ गर्न जरुरी रहेको प्रस्तुत कार्यपत्रमा उल्लेख छ । उनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने, विधि बनाउने, सरकार चलाउने, जनअभिमतलाई तल्लो तहको जनताको जनादेशको रुपमा ग्रहण गर्ने, समयसापेक्ष सामाजिक वा राजनीतिक परिवर्तन र संक्रमणको अवस्थालाई शान्तिपूर्णरुपमा परिवर्तन र परिमार्जन गर्ने माध्यमका रुपमा निर्वाचनलाई लिनुपर्ने बताए ।
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक भीमनाथ बरालले ‘स्वतन्त्र, स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन संचालनमा नागरिक संस्थाको भूमिका’ लोकतान्त्रिक अभ्यासलाई आफ्नो लिकबाट बाहिर जान नदिन नागरिक संस्थाहरुको भूमिका अपेक्षित रहेको उल्लेख गरे । उनले बहुदलीय व्यवस्थामा दल नै सर्वेसर्वा रहने हुँदा लोकतन्त्रको सुदृढीकरणका लागि दलहरुलाई नै सक्षम र परिस्कृत बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
‘आवधिक निर्वाचनलाई लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरणको महत्वर्पूर्ण पूर्वाधारको रुपमा लिइन्छ । स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगले संचालित निर्वाचनले मात्रै लोकतन्त्रको सृदृढीकरणमा सहयोग पु¥याउँछ,’ कार्यपत्रमा उल्लेख छ, ‘यस्तो विधिद्वारा निर्वाचित प्रतिनिधि बढी जिम्मेवार, उत्तरदायी र आफ्नो दायित्वप्रति प्रतिबद्धसमेत रहन्छन् । तर केही देशमा यो अभ्यास प्रत्युत्पादक देखिन्छन् ।’
नेपाली कांग्रेसका नेता रामबाबु भण्डारी र एमालेका माधवप्रसाद बास्तोलाले चुनाव निष्पक्ष र धाँधलीरहिकत बन्नुपर्नेमा जोड दिए । दलहरुभित्र पनि विभिन्न समस्या रहेको उल्लेख गर्दै उनीहरु यसमा घनीभूति छलफल हुनुपर्ने बताए ।
इन्सेक गण्डकी संयोजक शिव खकुरेलले आसन्न चुनावमा दलहरुले महिलालाई प्रतिनिधिसभा सदस्यमा नगण्य रुपमा उम्मेदवार बनाएको टिप्पणी गरे । हाल एमालेले ११ जना र नेपाली कांग्रेसले ९ जनालाई उम्मेदवार बनाएको उनको भनाइ थियो । जब मुलुकमा विधि र पद्दति स्थापित गर्न सक्दैनौ, तबसम्म समृद्धि हासिल गर्न नसकिने बताए । चुनाव भयरहित, निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुन नसकेको टिप्पणी गरे । ३६ वटा विभिन्न सामाजिक संघसंस्थाले निर्वाचनको पर्यवेक्षण अनुगमन गर्ने बताए ।
नियोगका विष्णुप्रसाद बरालले मुलुकमा लोकतन्त्रको नाममा यतिखेर लुटतन्त्र चलेको आरोप लगाए । उनले गठबन्धनको नाममा दलहरुले भागबण्डा गरी लुटतन्त्रमा उद्धत रहेको टिप्पणी गरे ।
अधिवक्ता लीलावल्लभ न्यौपानेले आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति चुनावको उम्मेदवार बन्न नहुने तर्क गरे । गण्डकी विश्वविद्यालयका उपप्राध्यापक तथा बिएएलएलबिका कार्यक्रम संयाेजक अधिवक्ता बिमलप्रसाद लामिछानेले दलहरुले निर्वाचन आचारसंहिता पालना गर्न नसकेको बताए । उनले फरक सिद्धान्त र विचार भएका दलहरुको गठबन्धनले नेपाली जनताको हकहितमा काम गर्न सक्छन् वा सक्दैनन् भन्नेमा दुविधा रहेको बताए ।
दीगो विकास श्रोत केन्द्रका कार्यक्रम अधिकृतका आदर्श सिग्देलले राम्रा व्यक्तिले टिकट नपाउने तर विगतमा मुद्दा खेपेका व्यक्तिले टिकट पाउने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।
नागरिक समाज सञ्जालका गिरिधारी सुवेदीले मतदान केन्द्र अपांगतामैत्री हुन नसकेको गुनासो गरे । पोलिटिकल साइन्स सोसाइटी नेपालका अध्यक्ष सुवास ढुंगाना, डा. सञ्जय कोइराला, शिव रेग्मी, कानुनका विद्यार्थी विप्लवी न्यौपाने, अस्मिता अधिकारी, रमेश सुवेदी, दिलकुमारी पौडेल, दलित संघका दुर्गाप्रसाद सुनार, लगायतले मन्तव्य राखेका थिए ।
आयोजक सयपत्री समाज कास्कीका अध्यक्ष प्राडा कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यकारी निर्देशक गिरधारी सुवेदीले गरेका थिए ।










काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



