प्लाष्टिकजन्य फूलगुच्छा किनबेच गरे कारबाही हुने

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ कात्तिक । प्लाष्टिकका फूलगुच्छाहरु आयात वा किनबेच गरेमा कारबाही हुने भएको छ । सरकारले यस्ता प्लास्टिकका फूलगुच्छाहरु उत्पादन, आयात बिक्री वितरण वा भण्डारण गरेमा १ लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको हो ।

यसअघि नै यस्ता पदार्थ आयात र बिक्री वितरण गर्न रोक लगाएको सरकारले नजिकै आएको तिहार र छठलाई मध्यनजर गर्दै पुन: सूचना जारी गरेर आयात, बिक्री वितरणमा रोक लगाइएको सूचित गरेको हो ।

सरकारले गएको साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको छ । तर पनि चालु आर्थिक वर्षको शुरुवाती २ महिनामा करोडौंको गरेर प्लाष्टिकजन्य फूलगुच्छा बयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ । तिहार र छठ नजिकिएसँगै बजारमा यसरी ल्याइएका प्लाष्टिकजन्य फुलमालाहरु बिक्रीका लागि राखेको देखिन थालेपछि सरकारले पुन: सूचना जारी गरेर सचेत गराएको हो ।

यसै प्रवृत्तिलाई मध्यनजर गर्दै वातावरण विभागले सार्वजनिक सूचना निकालेर तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह तथा सचेत गराएको हो । अनुगमनका क्रममा निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा ४ को  खण्ड क वा ख बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा २ बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सूचनामा उल्लेख गरिएको छ ।