इष्टर्न हाइड्रोको सेयरमा मागको २५ गुणा बढी आवेदन

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ असोज । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि निष्कासन तथा बिक्रीमा ल्याएकाे सेयरका लागि मागभन्दा २५ गुणा बढी आवेदन परेको छ । उक्त सेयरमा आवेदन दिने म्याद हिजो कात्तिक २ गते बुधबारसम्म रहेको थियो । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले आज बिहान १० बजे अद्यावधिक गरेको तथ्याङ्क अनुसार उक्त सेयरको १ करोड ५७ लाख ४३ हजार ७ सय कित्ताका लागि १३ लाख ९६ हजार ५९० आवेदन प्राप्त भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ लाख २३ हजार ३८९ कित्ता सेयर निष्कासन गरेकोमा आवेदन परेको आँकडा मागको २५.२५ गुणा हुन आउँछ ।

यसअघि कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेकोमा बिक्री नभएकाे बाँकी ५० हजार ३१० कित्ता सेयरसहित ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्कासन गरेको हो । त्यसमध्ये ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि तथा १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । यसपछि बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेमा त्यसको २५ गुणा बढी आवेदन परेको हो ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको संस्थाको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता तथा बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको थियो ।