पटाका गोदाममा विष्फोट हुँदा तीन जनाको मृत्यु

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित



भारत, ३ कात्तिक । मध्य प्रदेश राज्यको एउटा पटाका गोदाममा विस्फोट भएको छ । विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित  तीन जनाको मृत्यु हुनाका साथै अन्य धेरै घाइते भएका एक जना स्थानीय प्रहरीले चिनियाँ समाचार संस्था सिन्ह्वालाई बताएका छन् ।

राज्यको मोरेना जिल्लामा उक्त दुर्घटना भएको तथा ७ जना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । विष्फोटका कारण भवन भत्किँदा धेरैजना भग्नावशेषमा फसेका थिए । यही कात्तिक ७ गते भारतभर मनाइने दिवाली पर्वका लागि बनाइएका पटाका गोदाममा भारी मात्रामा भण्डार गरिएको थियो ।

प्रहरीका अनुसार ३ जनाको शव फेला परेको छ । यद्यपि उनीहरूको परिचय खुल्न बाँकी छ । भग्नावशेषमा अझै धेरै मानिस फसेका हुनसक्ने जनाउँदै प्रहरी खोज तथा उद्धार जारी रहेको बताएको छ ।