सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थप

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ कात्तिक । नाबालिग बलात्कार अभियोगमा पक्राऊ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न अझै २ दिन म्याद थपिएको छ । हिरासतमा रहेका लामिछानेलाई थप ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले बुधबार अनुमति दिएकोमा आज अदालतमा उपस्थित गराइएपछि अरु २ दिन म्याद थपिएको हो ।

प्रहरीले लामिछानेलाई गत बुधबार अदालतमा पेश गरेर अनुसन्धानका लागि सात दिनको समय थप गर्न माग गरेको थियो । अदालतले भने चार दिन  म्याद थप गरेर आज कात्तिक ६ गते आइतबार प्रतिवेदन सहित पेश गर्न प्रहरीलाई अनुमति दिएपछि उनी अनुसन्धानका लागि हिरासतमै रहेका थिए । 

लामिछानेलाई अदालतमा पेश गरिएको यो चौस्रो पटक हो । उनीमाथि नाबालिगलाई बलात्कार गरेको उजुरी परेपछि गत असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राऊ गरिएको थियो । पक्राऊ परेकै दिन पहिलो पटक र असोज २७ गते दोस्रोपटक अदालतमा पेश गरिएका लामिछानेलाई बुधबार तेस्रो पटक र आज चौथो अदालतसामु पेश गरिएको हो ।

लामिछानेले आफूलाई होटलमा लगेर बलात्कार गरेको भन्दै एक किशोरीले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछानेले भने आफू निर्दोष रहेको अदालतसमक्ष बयान दिँदै आएका छन् । गवपनीयताका लागि नाम परिवर्तन गरेर जुनेली राखिएकी जाहेरीवाला किशोरी हाल माइती नेपालको संरक्षणमा छिन् ।