
काठमाडौं, ६ कात्तिक । पुरातत्व विभागले गरेको अध्ययनमा टुकुचाको भूमिगत सुरुङ पुरातात्विक सम्पदा भएको पुष्टि भएको छ । पुरातात्विक सम्पदा ठहर भएपछि यसलाई संरक्षण गर्नुपर्ने भएकाले काठमाडौं महानगरपालिकाले भत्काउन नपाउने भएको छ ।
केही समयअघि महानगरले हात्तीसारमा टुकुचा खोतल्दै गर्दा पूरातत्वले चासो दिएर टुकुचा भूमिगत गर्न बनाइएको सुरुङबारे अध्ययन गर्न पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वमा समिति बनाएको थियो । समितिले दिएको प्रतिवेदन विभागलाई प्राप्त भएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताएका छन् । ‘प्रतिवेदनले उक्त संरचनालाई राणाकालमा बनेको ठहर गरेको छ,’ कुँवरले भने, ‘प्रतिवेदनले त्यसलाई संरक्षण गर्न सिफारिस पनि गरेको छ ।’
महानगरपालिकाले भूमिगत संरचना खोतल्दै खुला गर्ने गरी डोजर चलाएपछि सम्पदा अभियान्तको अनुरोधमा पुरातत्व विभागले अध्ययन थालेको थियो । अध्ययन समितिले नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म टुकुचा भूमिगत रुपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको हो ।
अध्ययनका क्रममा महानगरले खोतलेको क्षेत्रमा निस्किएका कतिपय इँटामा ‘श्री-३ वीर’ लेखेको भेटिएको बताइएको छ । सुरुङ कहिले बनेको थियो भन्ने अन्य प्रमाण पनि संकलन गरेर विश्लेषण गरिरहेका अध्ययन टोलीको भनाइ छ ।
टोलीले सुरुङ इँटा र सुर्की चुना प्रयोग गरेर बनाइएको ठहर गरेको छ । यसबाहेक गुम्बज आकारमा इँटाहरु जोडेर बनाइएङ्को सुरुङमा पानी बगाउन ठाउँ-ठाउँमा भर्याङजस्तो आकारमा छाँगा बनाउँदै काठमाडौं प्लाजासम्म पुर्याएको पाइएको अध्ययनका क्रममा भेटिएको छ ।
अध्ययन प्रतिवेदन हेरेर पुरातत्व विभागले यो सुरुङलाई पुरातात्विक सम्पदाको मान्यता दिएकाले महानगरले यसलाई थप बिगार्न नपाउने भएको हो । प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सरकारको स्वीकृतिविना प्राचीन स्मारकका सम्पदालाई भत्काउने, हटाउने, परिवर्तन गर्ने विरुप गर्ने जस्ता काम गर्न नपाइने प्रावधान छ । यसो गरिएमा उक्त पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी ५ हजार रूपैयाँदेखि १ लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



