
पाेखरा, ६ कार्तिक। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जाेड दिएका छन् ।
गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरण कार्यक्रमकाे आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित वाताबरणमा सम्पन्न गर्न मिडियाको सहयोग रहने विश्वास व्यक्त गरे।
आचारसंहिता परिपालना गर्ने गराउने बारेमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी भासियाे भनेजसरी काेकाेहाेलाे गर्नु कानूनको दृष्टिमा पनि नमिल्ने कुरा हाे, आयुक्त भण्डारीले स्पष्ट पारे ।
आयुक्त भण्डारीले स्पष्टीकरण सोध्नु भनेकाे आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाही नभएको बताउँदै उनीहरु विरुद्ध परेको उजुरीका बारेमा प्राकृतिक न्यायको सिद्धान्त बमोजिम सुनुवाइको मौका दिइने बताए । उनले दिइएकाे मौकामा प्रतिक्रिया दिएपछि आयोगले संकलन गरेका प्रमाण र उनीहरुले पेश गरेका प्रतिक्रियालाई अध्ययन गरेर आयोगबाट हुने निर्णयलाई मात्रै कारबाही ठहरका रुपमा लिनुपर्ने बताए । उनले त्यसपछि आचारसंहिता उल्लंघन गर्नेलाई कसुरदार ठहर गर्ने वा सफाइ दिने निर्णय मात्र अन्तिम निर्णय भएकाले याे कुरा बुझ्न आवश्यक भएकाे बताए ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन होला कि नहोला भन्ने आशंकाबीच सञ्चार जगतले निरन्तर निर्वाचनका पक्षमा खबरदारी गरेका कारण तोकिएको मितिमा अभूतपूर्व रूपमा निर्वाचन सम्पन्न हुन सकेको उनले स्मरण गराए । निर्वाचन आयोगले संविधान, कानून, ऐन, नियम, निर्देशिका मात्रै चिन्ने बताउँदै आयुक्त भण्डारीले कडाइका साथ निर्वाचन आचारसंहिता लागू गरिएकाे बताए ।
साे अवसरमा आयुक्त भण्डारीले सञ्चारकर्मीहरूले सम्प्रेषण गर्ने समाचार हरेक मतदाताको हातहातमा पुग्ने भएकाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सहयोग पुग्ने समाचार सम्प्रेषण गर्न आग्रह गरे। सञ्चारमाध्यमका लागि उम्मेदवारी मनोनयन गराएका सबै उम्मेदवारहरु बराबार हुने भएकाले कसैको पक्ष वा विपक्षमा समचार सम्प्रेषण नगर्न आग्रह गरे।
सामाजिक सञ्जालमा प्रवाह हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले त्यस्ता अभिव्यक्तिलाई सञ्चारमाध्यमले स्थान दिन नहुने बताए ।
कात्तिक १७ पछि राजनीतिक दलले आमसभा, कोणसभा, भेला,-याली, गोष्ठी तथा सेमिनार गरेर निर्वाचन प्रचारप्रसार गर्न थाल्ने भएकाेले त्यसपछि आचारसंहिता उल्लंघनका घटना बढ्न सक्ने भएकाले सञ्चारमाध्यम चनाखो भएर रिर्पोटिङ गर्नुपर्ने उनले बताए ।
आयोगले आचारसंहिता उल्लंघनको सूचना तथा उजुरी विभिन्न माध्यमबाट लिन सक्ने भएकाले मिडियाबाट सम्प्रेषण हुने समाचार तथा सूचनालाई आधार मानेर आचारसंहिता उल्लंघन गर्नेहरूमाथि आयोगले छानबिन र कारबाही गर्ने बताए।
निर्वाचन आचारसंहिता राजनीतिक दलहरूको सहभागितामा बनाइएको हाे । उनले भने, ‘त्यसकाे कार्यान्वयन गर्न दलहरूले प्रतिबद्धता जनाएका छन्, यस्ताे अवस्थामा आचारसंहिताको पूर्ण कार्यन्वयन हुन सके निर्वाचन पूर्णरूपमा स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण हुने आयुक्त भण्डारीकाे भनाइ थियाे ।
निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रणका लागि आयोगले फेसबुकको मातृ कम्पनी मेटासँग सहकार्य गरिरहेको जानकारी दिँदै उनले सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिए त्यसलाई सामाजिक सञ्जालबाट हटाउने व्यवस्था मिलाइएको आयुक्त भण्डारीले बताए।
आधिकारीक सूचनाका लागि आयोगबाट सञ्चालन गरिएको इबुलेटिन, आयोगको सामाजिक सञ्जाल, प्रवक्ता तथा नीति निर्देशिकाहरू पछ्याउन उनले आग्रह गरे। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनबाट देशको नीति निर्माण तहमा पुग्ने जनप्रतिनिधि चुनिने भएकाले मतदातालाई सुसूचित बनाउने गरी समाचार सम्प्रेषण गर्न आग्रह गरे। सो अवसरमा उनले आयोग र आयोगका संयन्त्रलाई निरन्तर खबरदारी गर्न सञ्चारमाध्यमलाई आग्रह गरे।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पँगेनीले निर्वाचन सामूहिक रुपमा जस प्राप्ति गर्ने र अपनत्व लिने सामूहिक कार्य भएको बताइन। उनले सबै सरोकारवालाले आ–आफ्नो तर्फबाट सहयोग गरेमा निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने उल्लेख गरिन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सञ्चारमाध्यमहरूले आधिकारिक सूचना र समाचार सम्प्रेषण गरी निर्वाचनलाई सफल पार्ने र निर्वाचन आचारसंहिता उल्लङ्घनमा पहरेदार (वाच डग)को भूमिका निर्वाह गर्नुपर्ने बताए ।
राससका कार्यकारी सम्पादक शीतलप्रसाद महतोले राससले स्वनियमनका लागि निर्वाचन आचारसंहिता पारित गरी लागू गरेको जानकारी दिँदै मतदाताको पक्षबाट जनसरोकारका एजेन्डालाई समाचार सामग्री बनाउने गरिएको जानकारी दिए।
सम्पादक महतोले सञ्चारमाध्यम र पत्रकारले पेसागत मर्यादा र पत्रकारिताको सिद्धान्तमा अडिग, पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना गरी नागरिकप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्ने बताए।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन तीनवटै सरक्षा निकायसँगै जिल्लामा एक हजार ६ सय म्यादी प्रहरीलाई तालिम प्रदान गर्ने काम भइरहेको बताए ।
कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुली, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेलगायतले निर्वाचनलाई सफल बनाउन आमसञ्चारमाध्यमको ठूलो भूमिका रहने बताए।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



