नबिल बैंकको नाफा डेढ अर्ब

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकको नाफामा वृद्धि भएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफामा ४१.३० प्रतिशतको बढोत्तरी भएको छ । विवरणमा जनाइए अनुसार बैंकले यो अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा बढाएर १ अर्ब ५७ करोड १५ लाख पुर्याएको छ ।

यो अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढाएकाले बैंकको खुद नाफामा पनि बढोत्तरी भएको बुझिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६४।०५ प्रतिशत बढेको छ । यसबाहेक खुद फि तथा कमिशन आम्दानी ४०।१६ प्रतिशतले, कुल सञ्चालन आम्दानी ५२।९९ प्रतिशतले तथा सञ्चालन मुनाफा पनि ४०।३८ प्रतिशतले बढेको विवरणले देखाएको छ ।

असोज मसान्तमा सकिएको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । नाफामा बढोत्तरी देखिएको यस बैंकको ईपीएस अर्थात प्रतिसेयर आम्दानीमा भने यो अवधिमा केही गिरावट आएको छ ।

समीक्षा अवधिमा बैंकको ईपीएस अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ रुपैयाँ ५८ पैसा घटेर २७ रुपैयाँ ५३ पैसामा झरेको छ पाइएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष २.२९ प्रतिशत बढेको छ भने निक्षेप २.४१ प्रतिशत र कर्जा १.५४ प्रतिशत बढेको विवरणमा उल्लेख छ ।