भारतबाट ३० हजार मेट्रिकटन रासायनिक मल आउँदै

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ कात्तिक । भारतबाट ३० हजार मेट्रिकटन युरिया मल आउने भएको छ । जीटूजी अर्थात् सरकार–सरकार बीचको खरिद प्रक्रियाको रासायनिक मलमध्ये उक्त परिमाण एक महिनाभित्र आउने निश्चित भएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार यसरी सरकार-सरकारबीच भएको सम्झौताअन्तर्गत पहिलो पटकका लागि ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीका अनुसार मल खरिद गर्ने भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत टुंगिएको छ । त्यसै हिसाबले पहिलो चरणको मल एक महिना भित्रै नेपाल भित्रिनेछ । यसरी भित्रिएको मल गहुँ र मकै सिजनका लागि प्रयोग हुने उनको भनाइ छ ।

उनले भने, ‘भारतीय कम्पनीले पठाएको दर रेटका आधारमा मल खरिदको प्रक्रिया टुंगिएको छ । अबको एक महिना भित्रै मल भित्रिने छ ।’ भारतसँग ७ सय ६८ अमेरिकी डलर प्रतिमेट्रिकटनमा मल खरिद भएको बताइएको छ । खरिद गरिएको मल विराटनगर, वीरगञ्ज र भैरहवामा रहेको कृषि सामग्री कम्पनीका गोदामसम्म भारतीय कम्पनीले ढुवानी गर्ने उनले बताए ।