धानबालीमा समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता

-



     सफल आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित



पाल्पा, १४ कात्तिक । दुई दशकको समय धानखेतीमा बिताएका ज्यामबहादुर राना अहिले धानबालीबाट सन्तुष्ट छैनन् । रामपुर नगरपालिका कृषि शाखामा माग गरेबमोजिम १८ किलो सावित्री जातको धान करिब ४ रोपनी जग्गामा लगाएका उनी सबै धानमा रोग लागेपछि चिन्तित छन् । 

घर अगाडिको खेतमा लगाएको धानबाली बोटमै सुकेर नोक्सान हुँदा रामपुर नगरपालिका–५ स्थित भम्बक निवासी राना वर्षभरि के खाने भन्ने चिन्तामा छन् । ‘लामो समय देखि धान लगाउँदै आएको हो, मलजल पनि राम्रै दिइएको भएपनि यो वर्ष धान राम्रो फलेन, परिवार कसरी धान्ने हो ? उनले भने, ‘केही फलेका बोट पनि सुक्दै गयो, यस्तो समस्या जीवनमा पहिलो पटक भोग्नुपरेको छ ।’

चार रोपनी जग्गामा राम्रो फल्दा २० मुरीसम्म उत्पादन लिने उहाँ यसपटक आधा पनि उत्पादन लिन हम्मेहम्मे पर्ने राना बताउँछन् । खेतमा लगाइएका धानबाली पसाउन भन्दाअघिदेखि बोट पहेँलै भएर सुक्दै जाने समस्या विस्तारै खेतभरि लगाइएका धानमा फैलिँदै जाँदा बाला नै निस्कन नसकेको उनको गुनासो छ । सो विषयमा कृषि प्राविधिकसमक्ष क्षतिपूर्तिका लागि जानकारी गराएको रानाले बताए । 

अम्बिका डोटेलले कृषि शाखा रामपुरबाट ल्याइएको धानको बीउमा समस्या देखिएको बताइन् । उनले राम्रो बीउ पाइन्छ भन्ने आशाले शाखामा नाम टिपोट गरी ल्याइएको बीउ नै खराबीका कारण समस्या देखिएको सुनाइन् । ‘धान स्याहार्नै नपाइने गरी बिग्रेको छ, धान कुहिने सुइरा मर्ने, भित्रभित्रै रातै हुने, डढ्ने जस्ता समस्या देखिएपछि महँगो मूल्य तिरेर रासायनिक मल प्रयोग गरियो, बाला लागे पनि दाना पोटिला छैन, कुनै बालामा कालो दाग लागेको अवस्था, किसान पनि बाँच्नुप¥यो, क्षतिपूर्ति हामीलाई चाहियो, मलजल, श्रम सबै खेर जाने भयो’, उनले भनिन् ।

यस्तो समस्या रामपुरका विभिन्न ठाउँमा लगाइएका धानबालीमा देखिएको किसानले बताएका छन् । केही किसानले बीउकै खराबीले समस्या भएको दाबी गर्छन् । सोही ठाउँकै हरिमाया गौतमले रामपुर नगरपालिकाबाट ल्याइएको बीउमा रोग लागेपछि ठूलो नोक्सानी परेको गुनासो सुनाइन् । करिब ९० मुरी धानको उत्पादन लिने उनी यस पटक दश मुरी धान उत्पादन लिन पाइएला या नपाइएला भन्ने दोधारमा छिन् ।

बालामा दाना राम्रोसँग पनि लागेको छैन भने केही बाला लागेका धान पनि सुकेर नोक्सान पुगेको छ । गौतमले सावित्री जातको दुई बोरा धान रामपुर नगरपालिकाबाट वितरित धान ल्याएकी हुन् । सो बीउ लगाएका खेतभरि नै समस्या देखिएपछि सम्बन्धित निकायले क्षतिपूर्ति दिलाउनुपर्ने उनको माग छ ।

‘धान खेती गरेरै बुढ्यौलीपन लाग्यो, कहिलेकाहीँ मौसम अनुकूल नहुँदा सामान्य रोग किराको समस्या देखिए पनि अहिलजस्तो खेतभरि नै लगाएको धान नै बिग्रने गरी समस्या जीवनमा कहिल्यै भोग्नु परेन, धान लगाउँदा लागेको ट्याक्टर भाडा, मल, गोडमेल गर्दा लगाइएको खेताला सबै खर्च यो वर्ष नउठ्ने हुदा हामी किसान मारमा परियो’, उनले गुनासो पोखिन् ।

धान पसाउने बेलामा परेको निरन्तर अबिरल वर्षाले क्षति पुर्याएपछि यसवर्ष धान उत्पादनमा कमी आउने देखिएको छ । वर्ष दिन खाने अन्नबाली राम्रोसँग स्याहार्न नपाउँदा कसरी पेट पाल्ने समस्या उत्तिकै छ । किसानले माग गरेअनुसार रामपुर नगरपालिकाले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरबाट तोकिएको धान बीउ स्रोत केन्द्रबाट बीउ ल्याएर रामपुरका किसानलाई वितरण गरिएको हो ।