लामिछानेमाथि परेको मुद्दामा थुनछेक बहस आजबाट

-



     सफल आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । लामिछानेविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको कसूरमा मुद्दा दायर गरिएको थियो ।

आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुने काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । थुनछेक बहसपछि एक-दुई दिनमै अन्तिम फैसला आउन सक्ने जिल्ला सरकारी वकिलको कार्यालयको आकलन छ ।

पटक पटक म्याद थपेर अनुसन्धान बयान लिँदै अनुसन्धान गर्दा पनि आरोपित लामिछानेले आफू सँगै होटलमा बसेको तर जबरजस्ती करणी नगरेको बयान दिँदै आएका छन् । उनले आफू किशोरीकै आग्रहमा नगरकोट गएको बताउँदै आएका छन् । उता पीडित भनिएकी जाहेरीवाला किशोरीले भने आफूलाई लामिछानेले भेट्‍न बोलाएको, नगरकोट लगेको र फर्कँदा होटलमा राखेर २ पटक बलात्कार गरेको बताउँदै आएकी छिन् ।

प्रहरीले आरोपित र पीडित बीचको स्न्यापच्याट कुराकानी, होटलको सीसीटीभी फुटेज तथा लगायतका प्रमाणका आधारमा कसूरबाट उम्कन सक्ने स्थिति नरेहेको भन्दै जबरजस्ती करणीको कसूरमा मुद्दा दायर गर्नुपर्ने निर्णयमा पुगेको हो ।

पीडित किशोरी १६ वर्ष वा त्योभन्दा बढी १८ वर्षभन्दा कम उमेरको भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार दर्ता गराएको अभियोग पत्रमा त्यसै अनुसार अधिकतम सजायको मागदावी गरिएको छ ।

आरोपित लामिछानेलाई आत्मसमर्पणका लागि गत असोज २० गते अमेरिकाबाट फर्कँदै गर्दा प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राऊ गरेर हिरासतमा लिएको थियो । उनीविरुद्ध तीन पटकसम्म म्याद थप गरी अनुसन्धान भइसकेको छ ।

लामिछानेले आफूलाई होटलमा लगेर बलात्कार गरेको भन्दै एक किशोरीले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछानेले भने आफू निर्दोष रहेको अदालतसमक्ष बयान दिँदै आएका छन् । गोपनीयताका लागि नाम परिवर्तन गरेर जुनेली राखिएकी जाहेरीवाला किशोरी हाल माइती नेपालको संरक्षणमा छिन् ।