एलन मस्कद्वारा ट्विटरका सबै बोर्ड सदस्य बर्खास्त

-



     सफल आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित



क्यालिफोर्निया, १५ कात्तिक । ट्विटरका नयाँ निर्देशक तथा मुख्य कार्यकारी एलन मस्कले कम्पनीका सबै बोर्ड सदस्यलाई बर्खास्त गरेका छन् । सबै बोर्ड सदस्यलाई बर्खास्त गरेर मस्क एकल रुपमा कम्पनीको बोर्ड सदस्य बनेका छन्।

सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन सीईसीमा पेस गरिएको दस्तावेज मार्फत उक्त विषयको खुलासा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार मस्कले ट्विटर खरिद गरेपछि कम्पनीका सबै पुराना उच्च पदस्थ कर्मचारीलाई बर्खास्त गर्ने योजना पहिले देखि नै बनाएका थिए । कम्पनी आधिकारिक रुपमा आफ्नो हातमा परेसँगै मस्कले कम्पनीका सीइओ पराग अग्रवाल, सीएओ नेड सहगल तथा कानुनी तथा नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका थिए ।

द वाशिङ्टन पोस्टको एक रिपोर्ट अनुसार मस्कले अझै कम्पनीका ७ हजार ५ सय कर्मचारीमध्ये ७५ प्रतिशतलाई बर्खास्त गर्न सक्ने सम्भावना प्रबल छ । उनले ट्विटर सम्झौताका बेला नै आफ्ना लगानीकर्ता समक्ष यसबारेमा प्रष्ट पारेका थिए । त्यतिबेला कम्पनीले मस्कको यो प्रस्ताव वा निर्णयलाई अस्वीकार गरे पनि अब कम्पनीको सम्पूर्ण कार्यकारिणी अधिकार एकलौटी रुपमा आफ्नो हातमा आएकाले यसो गर्न चाहेमा मस्कलाई कुनै कुराले अवरोध गर्ने छैन ।