डुङ्गा डुब्दा हराएका थप २० यात्रुको शव भेटियो

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित



एथेन्स, १७ कात्तिक । ग्रीसको इभामा अवस्थित समुद्रमा डुङ्गा डुब्दा हराएका थप २० जना यात्रीको शव निकालिएको छ । उद्धारकर्मीहरुले समुद्रको किनारबाट बिहीबार २० ओटा शव निकालेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । उद्धारकर्मीहरुका अनुसार सो क्षेत्रमा मङ्गलबार डुँगा डुब्दा ती यात्रु हराएका थिए ।

मङ्गलबारदेखि उद्धारकर्मीहरुले खोजी जारी राखेका र बुधबार र बिहीबार उनीहरुको शव भेटिएको बताइएको छ । ग्रीसको राष्ट्रिय समाचार समितिले डुङ्गा डुबेपछि मंगलबार नै उद्धारकर्मीहरु त्यहाँ पुगेका तर आँधीका कारण उद्धारको काममा कठिनाइ भएको बताएको छ । सोही दिन १२ जनालाई जीवितै उद्धार गरिएको पनि सो समाचार समितिले जनाएको छ ।

दुर्घटनामा परेका अन्य २० जनाको शव बुधबारै निकालिएको पनि सो समाचार उद्धारकर्मीलाई उद्धृत गर्दै सो समाचार समितिले जनाएको छ । जीवितै उद्धार गरिएकाहरुले सो डुँगामा ६८ जना यात्रु रहेका बताएका छन् । उक्त डुंगामा इजिप्ट, अफगानिस्तान र इरानका आप्रबासीहरु रहेका बताइएको छ ।