
काठमाडौं, १७ कात्तिक । राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेड कम्पनी बन्ने छ । सरकारी स्वामित्वको यो संस्था बीमा ऐन २०७९ लागू भएसँगै राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज भएकाले पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने भएको हो ।
नयाँ बीमा ऐनले बीमा प्राधिकरण स्थापना भएको एक वर्षभित्र संस्थान पब्लिक कम्पनी लिमिटेडमा परिणत गर्नुपर्ने प्रावधान तोकेको छ । यसरी पब्लिक कम्पनीमा परिणत भएपछि संस्थानमा कार्यरत कर्मचारीहरु, चल अचल सम्पत्ति र दायित्वहरु समेत स्वतः कम्पनीकै हुनेछ । यसबाहेक संस्थानबाट जारी भएका बीमालेखहरु समेत कम्पनीबाट जारी भएको मानिनेछ ।
पब्लिक कम्पनीमा जाने भएपछि संस्थानले प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुजी कायम गर्नुपर्ने हुन्छ । यसअघि राष्ट्रिय बीमा संस्थान ऐन सकृय रहेकोले संस्थानलाई न्यूनतम चुक्ता पुजी पुर्याउनै पर्ने बाध्यता थिएन । तर अहिले संस्थान ऐन खारेज भएर नयाँ बीमा ऐन लागू भएपछि यो अनिवार्य भएको हो ।
हाल संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रहेकोमा कम्पनीको रुपमा परिणत भएपछि न्यूनतम चुक्ता पुजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीहरूलाई चैतभित्र ५ अर्ब रूपैयाँ पुँजी कायम गर्न निर्देशन दिएको छ । त्यस अनुसार संस्थानले ४ अर्ब ८१ करोड ८९ लाख रूपैयाँ पूँजी थप्नु पर्ने देखिन्छ ।
न्यूनतम चुक्ता पुँजीको बाध्यता आए पनि कम्पनीको रुपमा परिणत भएपछि संस्थानलाई सर्वसाधारणका लागि सेयर निष्कासन गरेर पुँजी संकलन गर्ने बाटो भने खुल्ने देखिन्छ । त्यसै अनुसार संस्थानले सर्वसाधारणका लागि सयर निष्कासन गरेर न्यूनतम चुक्ता पुँजी जुटाउने योजना बनाएको छ ।
संस्थानमा सरकारको २७.७८ प्रतिशत, राष्ट्र बैंकको ५५.५५ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ । गत असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेको बीमा ऐन २०७९ आगामी कात्तिक २२ गते देखि लागू हुनेछ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



