साढे १३ सय विदेशीलाई हिमाल आरोहणको इजाजत

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ कात्तिक । नोभेम्बरसम्म १ हजार ३६० विदेशी पर्यटकले विभिन्न हिमाल आरोहणका लागि स्वीकृति पाएका छन् । पर्यटन विभागले बुधबार जारी गरेको विवरण अनुसार नेपालको ५,७५८ मिटर अग्लो थोरोङ चुलीदेखि सर्वोच्च शिखर सगरमाथासम्म गरी ४४ हिमाल आरोहणका लागि विभिन्न देशका १६१ टोलीमा रहेका १ हजार ३६० पर्यटकले हिमाल आरोहणको अनुमति पाएका छन् ।

यसरी हिमाल आरोहणको अनुमति पाएकामा १ हजार ४९ पुरुष तथा ३११ महिला रहेका छन् । इजाजत पाएका १६१ टोलीमा ८, १६३ मिटर अग्लो मनास्लुका लागि सर्वाधिक ३८, ६,८१४ मिटर अग्लो आमादब्लम आरोहणका लागि ३४ तथा ७१२६ मिटर अग्लो हिमलुङ हिमालका लागि १६ टोलीले इजाजत पाएका छन् ।

यी हिमाल आरोहणका लागि इजाजत जारी गरेबापत् विभागलाई ९ करोड ३ लाख २१ हजार ३१४ रुपैयाँ रोयल्टी रकम उपलब्ध भएको छ । विभागका अनुसार हिमाल आरोहणका लागि नेपाल आइरहेका ७७ देशमध्ये अमेरिका धेरै पर्यटक आएको तथ्याङ्क छ । इजाजत पाएका १ हजार ३६० जनामध्ये १ सय ३२ अमेरिकी रहेको विभागको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार अमेरिकापछि फ्रान्सबाट आउने पर्यटकको संख्या धेरै छ । फ्रान्सबाट १ सय १९ पर्यटक आएका छन् । यस्तै बेलायतबाट ११४, स्पेनबाट ८४, जर्मनीबाट ८५, रुसी महासंघबाट ६१, स्विजरल्याण्ड र पोल्याण्डबाट समान ५०-५० पर्यटक आएका छन् ।

यो सूचीमा भारतरका ४८, इटलीका ४३, अस्ट्रेलियाका ४०, इरानका ३१, दक्षिण कोरियाका ३०, जापानका २८, क्यानडा र अष्ट्रियाका समान २७-२७, नेपालका २३,  चीनका २२, अर्जेन्टिनाका २१, चेक गणतन्त्रका १८, नेदरल्याण्ड्सका २०, स्लोभेनियाका १९, नर्वेका २२, बेल्जियमका १६, लाट्भिया, आयरल्याण्ड र सिंगपुरका समान १०-१०, रोमानियाका १ तथा मेक्सिकोका १२ र अन्य केही देशका १ देखि ८ जना रहेका छन् ।