सर्पको डसाइबाट भारतमा वार्षिक ६४ हजारभन्दा बढीको मृत्यु

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७९ मा प्रकाशित



नयाँ दिल्ली, २१ कात्तिक । भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जनाभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क रहेको छ । हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको स्थानीय पत्रिकाले जनाएको छ ।

भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचार अनुसार यहाँ हरेक वर्ष ६४ भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको छ ।

भारतमा गत वर्षमात्र सर्पले टोकेर ६४ हजार १ सय जनाको ज्यान गएको थियो । विश्वका विभिन्न २१ देशका अनुसन्धाताहरु सम्मिलित रहेर गरिएको सो अनुसन्धानमा विश्वमा हरेक वर्ष ७८ हजार ६ सय जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ । भारतमा मात्र ६४ हजार जना भन्दा बढी रहेका देखाइएको छ ।

भारतको पनि उत्तर प्रदेशमा सबैभन्दा धेरै मानिसको सर्पको डसाइबाट मृत्यु हुुने गरेको छ । यस प्रदेशमा मात्र १६ हजार भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको सो अनुसन्धानले देखाएको छ ।

त्यसपछि भारतको मध्य प्रदेशमा धेरै मानिसको ज्यान जाने गरेको छ । भारतको मध्य प्रदेशमा पाँच हजार सात सयको ज्यान गएको थियो । त्यसपछि भारतको राजस्थानमा ५ हजार ३ सय जनाको सर्पले डसेर ज्यान गएको थियो ।

संसारमा प्रति १ लाख जनामा ०.८ जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ । भारतको तुलनामा यो निकै थोरै हो । यता भारतमा प्रति १ लाख जनामा ४ जनाको सर्पको डसाइबाट ज्यान जाने गरेको तथ्याङ्क रहेको छ ।