चिसो बढेसँगै डेङ्गु सङ्क्रमण उल्लेख्य घट्यो

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७९ मा प्रकाशित



काठमाडौँ, २१ कात्तिक । वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण उल्लेख्य घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज इजिप्सी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुदै गएको छ ।

वर्षायाममा कुनै समय १ हप्तामा ५ हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका थिए । अहिले त्यो सङ्ख्या निकै घटेको छ । गत कात्तिक १५ देखि २० गतेसम्म ६ सय २४ जनामा मात्र डेङ्गुका बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

गत असोज १५ देखि कात्तिक १५ सम्म १७ हजार ७ सय १७ जनामा र अङ्ग्रेजी महिना सेप्टेम्बरमा २७ हजार ५ सय २९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले डेङ्गुको सङ्क्रमण विगत दुई हप्तादेखि घटेको बताए । उनले वातावरणको प्रभाव र रोकथाम तथा नियन्त्रणमा गरेको कामको आधारमा डेङ्गुका बिरामी घटेको बताएका हुन् ।

महाशाखाकै कीटजन्यरोग शाखाप्रमुख डा गोकर्ण दाहालले जनवरीदेखि ३७औँ हप्तासम्म डेङ्गुको सङ्क्रमण बढेको र त्यसपछि ३८औं हप्तादेखि घट्न सुरु भएको जानकारी दिए । उनका अनुसार ४३औं हप्तामा १ हजारभन्दा कमको सङ्ख्यामा डेङ्गुका बिरामी भेटिएका छन् । ४४औँ हप्तामा आइपुग्दा ६ सय २४ जनामा मात्र डेङ्गुको सङ्क्रमण देखिएको छ ।

उनले अबको १५ दिनभित्र यो सङ्ख्या निकै कम हुने बताए । महाशाखाका निर्देशक डा दासका अनुसार सङ्क्रमण दर उच्च भएको बेला नेपालमा डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ चार प्रकारका देखिएका थिए ।

महाशाखाका निर्देशक डा दासले सङ्क्रमण अघि  गरिएको १२ वटा नमूनामा ७ वटामा डेङ्गु–१ र ५ वटा नमूनामा डेङ्गु–३ देखिएको जानकारी दिए । अहिले फेरि कुन तहको डेङ्गु रहेको छ भनेर पत्ता लगाउनका लागि नमूना परीक्षण गरिएको छ । त्यसको रिर्पोट अझै नआएको उनको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलका अनुसार अहिले अस्पतालमा नौ जना मात्र बिरामी रहेका छन् । तीमध्ये ३ जना सघन उपचार कक्ष र ६ जना साधारण शय्यामा उपचाररत रहेका छन् । अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसेले विगत १५ दिनदेखि डेङ्गुका बिरामी आउनेको सङ्ख्यामा कमी भएको जानकारी दिए ।

जाडो भएसँगै डेङ्गुको सङ्क्रमण गराउने लामुखुट्टेको सक्रियता कम भएको, मानिसले पनि बाक्लो हातखुट्टा छोपिने कपडा लगाउने गरेकोले डेङ्गुका बिरामी घटेको उनी बताउँछन् ।

उनले अस्पतालको आकस्मिक सेवा, बहिरङ्ग सेवा र परीक्षण गराउने आउने बिरामी पनि घटेको बताए । अस्पतालमा पहिले दैनिक १ सय ५० देखि १ सय ७० बिरामी उपचार गर्न आउने गरे पनि अहिले त्यो सङ्ख्या घटेको छ । साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज इजिप्सी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण हुने गर्दथ्यो ।