किन बर्खास्त हुँदैछन् गण्डकी प्रदेशका ऊर्जामन्त्री आचार्य ?

-



     सफल आवाज    
     कार्तिक २२ गते २०७९ मा प्रकाशित



पोखरा, २७ कात्तिक । गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त हुने भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् ।

मन्त्री आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोपमा हटाइन लागेका हुन् । आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए ।

मन्त्री आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । हालै गोरखामा आचार्यले आफूविरुद्ध मत मागेको भन्दै प्रचण्डले भट्टराईसमक्ष गुनासो गरेका र उक्त कुरा प्रधानमन्त्री देउवासम्म पुगेपछि उनले गण्डकीका मुख्यमन्त्री पोखरेल उनलाई हटाउन लगाएको बुझिएको छ ।

नेपाल समाजवादी पार्टीमा रहेका उनी ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारको आकांक्षी रहेको र पार्टीले अर्का व्यक्तिलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि उनले उम्मेदवारी फिर्ता लिएका थिए ।