चेम्बरको ब्याजवृद्धि विरुद्धको आन्दोलन चुनावसम्म स्थगित

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, कात्तिक २४ । नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धि विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर एवं राष्ट्रबैंकको चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएका विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्ति मार्फत आग्रह गरेको हो ।

‘मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । निर्वाचन लगत्तै आफ्नो शान्तिपूर्ण संर्घषका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसँग वार्ता मार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्ने छ, । त्यतिन्जेल सम्मका लागि संघर्षका सवै कार्यक्रम स्थगिथ गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी निकै मर्कामा परे पनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘ब्याजदर वृद्धिले उद्योग व्यवसाय निकै धरासायी भएका छन् । बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुँदा समेत सरकारले व्यवसायीको माग सुनुवाई गरेको छैन । निर्वाचन लगत्तै संघर्षमा उत्रनुको विकल्प छैन ।’ उनले कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्क हटाउन पनि आग्रह गरेका छन् ।

चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्रबैंकसमक्ष हाल कायम स्प्रेड दर, एवं बैंकहरुको आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरिसकेको छ । चेम्बरले केही समयअघि राष्ट्रबैंकलाई बिभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको थियो ।

चेम्बरद्वारा हालै जारी विज्ञप्तिमा बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको तथा निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा उद्योग व्यवसायमा हुने लगानी निरुत्साहित हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउने उल्लेख छ ।